१४ माघ २०८१, सोमबार

निर्वाध समाचार संकलन गर्न पाउने वातावरण बनाउन आग्रह
  • न्युज मानसराेवर

बाँके\नेपालगन्जमा सञ्चालित प्रादेशिक महोत्सवमा निर्वाध रुपमा समाचार संकलन गर्न पाउने वातावरण बनाउन नेपाल पत्रकार महासंघ बाँकेले नेपालगन्ज उद्योग वाणिज्य संघलाई आग्रह गरेको छ । पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले आइतबार एक विज्ञप्ती जारी गर्दै महोत्सव स्थलमा पत्रकारमाथि दुर्व्यवहार नगर्न र समाचार संकलनको वातावरण बनाउन आग्रह गरेका हुन् ।

‘नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष, प्रवक्ता लगायत जिम्मेवार पदाधिकारीबाट प्रेस मैत्री वातावरणका लागि प्रतिबद्धता व्यक्त भएको र मिडियाको परिचयपत्रबाट महोत्सव स्थलभित्र प्रवेश गर्न मिल्ने प्रबन्ध गरिएको जानकारी आयोजकले गराइसकेको अवस्थामा पनि महोत्सव स्थलभित्र प्रवेश गर्दा भइरहेको अनावश्यक उल्झन र असहजता प्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

यही माघ १२ गतेका दिन मञ्च परिसरमा साँगितिक कार्यक्रमको फोटो खिच्ने र भिडियो छायाँकन गरिरहेको अवस्थामा न्यूज बाँके अनलाइन मिडियामा कार्यरत पत्रकार टार्जन ओलीमाथि आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै आयोजक स्वयं र सुरक्षाकर्मीबाट भएको दुर्व्यवहारको घटनाप्रति खेद व्यक्त गरिएको विज्ञप्तीमा जनाइएको छ ।

पत्रकार ओलीमाथी भएको उक्त  घटनाप्रति नेपाल प्रेस युनियन बाँके, प्रेस चौतारी नेपाल बाँके र प्रेस सेन्टर नेपाल बाँकेले पनि छुट्टा छुट्टै विज्ञप्ती निकालेर गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । युनियन बाँकेका सचिव भिष्म लोध, चौतारी बाँकेका सचिव देवेन्द्र पौडेल र प्रेस सेन्टर बाँकेका सचिव पुष्पराज हमालले विज्ञप्तीमार्फत ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

  • १३ माघ २०८१, आईतवार प्रकाशित

  • Nabintech