१५ माघ २०८१, मंगलवार

लाखौँ किशोरीको जीवन रक्षा क्यान्सरविरुद्धको खोप अभियान
  • न्युज मानसराेवर

देशभरका १६ लाख ८८ हजार ७ सय ६८ छात्राले पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपीभी खोप लगाउँदै छन्। खोप अभियानअन्तर्गत यो वर्षबाट खोप लगाउन लागेको हो । यसले लाखौँ किशोरीको जीवन जोगाउनेछ।

विश्व क्यान्सर दिवसको अवसरमा यही माघ २२ गतेबाट खोप लगाउन लागेको हो। यो अभियान फागुन ६ गतेसम्म सञ्चालन हुनेछ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्कअनुसार देशभरका १९ हजार ८ सय विद्यालयका १० देखि १४ वर्ष उमेर समूहका छात्रालाई खोप लगाउन लागेको हो। यो खोप कक्षा ६ देखि १० सम्मका छात्राले लगाउनेछन् । उक्त खोप लगाएपछि भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट जोगिन सकिन्छ। राष्ट्रिय खोप सल्लाहकार समितिले गरेको निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

लामो समयको हिउँदे बिदापछि विद्यालय शुरु भएको छ । विद्यालय शुरु भएको मौका छोपेर पढाइको लागि अनिवार्यरुपमा छात्राहरु विद्यालय आउने भएपछि सरकारले विद्यालयमै खोपकेन्द्र सञ्चालन गर्न लागेको हो। यसलाई सफल बनाउन प्रदेश र स्थानीय सरकार दत्तचित्त भएका छन्।विद्यालयबाहिर रहेका किशोरीलाई भने स्थानीय तहले वडागतरुपमा खोप लगाइदिने व्यवस्था छ । चिकित्सकका अनुसार यो खोप एक मात्रा लगाएका किशोरीलाई अर्को मात्रा लगाउन जरुरी छैन। महिनावारी भएको अवस्थाका किशोरीहरुमा पनि यो खोप लगाउन मिल्छ । यो खोपले महिनावारी ढिलो वा छिटो हुनेमा कुनै असर गर्दैन।

पाठेघरको मुखको क्यान्सर नेपाली महिलाहरुको सर्वाधिक ज्यान लिने क्यान्सर हो । यसका कारण नेपालमा दैनिक औसत ४ जना महिलाको मृत्यु हुने गर्छ । यौनसम्पर्कबाट सर्ने ह्युमन पपिलोमा भाइरसको संक्रमणबाट हुने यो क्यान्सरले शुरुमा खासै लक्षण नदेखाउने र देखिएपछि जचाउँन आएका अधिकांशमा अवस्था जटिल देखिएको छ । तथ्याङ्कअनुसार हरेक वर्ष ५ लाख ७० हजार महिलालाई क्यान्सर हुने गरेको छ । यो संख्या बढेर सन् २०३० सम्ममा ७ लाख पुग्ने अनुमान छ। यो क्यान्सरले नेपालमा दैनिक ४ जनाको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ ।

त्यसैले नदेखेर लाग्ने यो रोगबाट बचाउन सरकारले लक्षित संख्याको ९० प्रतिशत किशोरीलाई एचपीभी खोप लगाउने लक्ष्य छ। शुरुमा विश्वका ४ देशले लगाएको यो खोप अहिले १ सय ४५ मुलुकले राष्ट्रिय खोप तालिकाअनुसार लगाइन्छ । अहिले ९ वर्ष पुगेका छात्रालाई १० वर्ष पुगेपछि अर्को वर्ष खोप लगाइन्छ । अर्थात् हरेक वर्ष अभियानकै रुपमा खोप लगाउने तयारी छ। विश्व स्वास्थ्य संगठनले अनुमति दिएको यो खोप नेपालमा प्रयोगको लागि औषधि व्यवस्था विभागले सुरक्षित र प्रमाणित गरेको छ। त्यसैले खोप लगाउन डराउनुपर्दैन। यस खोपले किशोरीलाई कुनै असर नगर्ने चिकित्सकको भनाइ छ।

त्यसैले सरकारले सञ्चालन गरेको अभियानलाई सबै सरोकारवालाले सहयोग गर्नुपर्छ । तोकिएको उमेर समूह र कक्षाका छात्राहरुलाई खोप लगाउने दिन विद्यालयले अनिवार्य उपस्थित गराउनुपर्छ। यो विद्यालयको दायित्व पनि हो । यस्ता खोप अभियानको सराहना गर्नै पर्छ।

  • १४ माघ २०८१, सोमबार प्रकाशित

  • Nabintech