कर्णाली\रुकुमपश्चिमको मुसीकोट नगरपालिका –७ स्थित साँख गाउँको बिचमा सुन्दर साँखदह पर्छ । दहदेखि माथि माथिगाउँ र तलको तलीगाउँ रहेको छ । यस वर्ष तलिगाउँले माथिगाउँसँग दुलही माग्यो र बिहेबारी भयो ।
अघिल्लो वर्ष तलिगाउँले दुलही अन्माएको थियो । यो वर्ष माथिगाउँले । हरेक वर्ष साँखमा लाग्ने परम्परागत ‘पापीनी मेला’ मा बालिकाबिच गरिने नक्कली विवाह यो वर्ष पनि सम्पन्न भएको छ । यस अवसरमा रीतअनुसार बेहुली माग्ने, जन्ती जाने, बेहुली लिएर फर्कने, धुमधाम भातभतेरको काम र मेला भर्नेकाम धुमधामले हुन्छ ।
हरेक वर्षको माघ १४ गते साँझ दुलही माग्न जाने र १५ गते साँझ दुलहा पक्ष बाजागाजासहित जन्ती लिएर दुलही लिन जाने गर्छन् । सोही दिन माइती पक्षले विवाह गरिदिएर छोरीलाई अन्माउने प्रचलन रहेको छ । यस वर्ष पनि माथिगाउँले दुलही अन्माएको हो ।
नक्कली बिहे पापीनी मेला अन्तर्गतको नक्कली बिहेमा बेहुला र बेहुली दुवै किशोरी हुन्छन् । किशोरीलाई नै बेहुला र बेहुलीका रूपमा शृङगारेर चलिआएको रीत अनुसार बेहुली माग्ने, जन्ति लिएर जाने र माइती पक्षले पनि रीतअनुसार छोरीलाई अन्माएर पठाउने परम्परा छ । यो वर्ष साँखको तलिगाउँबाट जन्तीसहित गएका दुलहा पक्षले माथिगाउँबाट दुलही ल्याएर फर्केका छन् ।
वडाध्यक्ष एक्कबहादुर पाण्डेका अनुसार दुई दिन लगाएर सम्पूर्ण विधि–प्रक्रिया गरेर धुमधामले गरिने बिहे भने ‘नक्कली’ हो । बिहेमा बेहुला र बेहुली पनि नक्कली नै हुन्छन् । दुवै गाउँका केटीलाई बेहुला र बेहुलीको भूमिकामा राखिन्छ । बेहुला र बेहुली पक्षका अभिभावक, बिहे गर्ने र गराउने जन्ती जाने, भोजभतेरमा सहभागी हुने सबै अविवाहित किशोरी मात्र हुन्छन् । हरेक वर्ष माघ १४ देखि १६ गतेसम्म साँखमा यसरी नै धुमधामका साथ नक्कली बिहे हुँदैआएको छ ।
यो रहर वा बाध्यताभन्दा पनि परम्परा भएको स्थानीय अगुवा पूर्णबहादुर बुढाले बताउनुभयो । साँखमा मानव बस्ती सुरु भएदेखि नै साँखदहमा नाटकीय विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ । बुढाका अनुसार हरेक वर्ष नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा मान्छे मर्छन् भन्ने जनविश्वास छ । हरेक वर्ष साँखका दुई गाउँले पापीनी तयार गर्छन् र परम्परा चलाउँछन् । परम्परा चलाउने कन्यालाई भने ‘पापीनी’ को नाम दिइएको छ । ‘पापीनी’ हुनका लागि जनजाति समुदायको, बिहे नगरेको र नाच्न जान्ने गरेर तीन वटा योग्यता तोकिएको हुन्छ ।
पापिनी कन्या
नक्कली बिहे भने पनि पापीनी मेला भने पनि यसको सबै जिम्मा कन्याहरूकै हुन्छ । पूर्खौंदेखि चलिआएको यो चलनको भरथेग गर्ने कन्यालाई ‘पापीनी’ किन भनियो भन्ने यथेष्ट उत्तर छैन । ‘पापिनी’ अगुवाको निर्देशन र पहलमा आगो बाल्ने, सिस्नो खेल्ने र नाच्ने काम हुन्छ । बेहुलापट्टिका थलामा ७ र बेहुलीपट्टिका थलामा ५ फन्को नाच्ने चलन रहेको छ । पापीनी मेलाको परम्परा क्रमशः पुस्तान्तरण हुँदै गएकाले यसले निरन्तरता पाइरहेको स्थानीय अगुवाको बुझाइ रहेको छ । गत वर्षदेखि हाम्रो सरोकार रुकुमले मेलाको अवसरमा विभिन्न खेलकुदका कार्यक्रमहरू राखेर मेलालाई थप व्यवस्थित र भव्य बनाइरहेको छ । यस वर्ष पनि विभिन्न खेलकुद प्रतियोगिता भइरहेका छन् । सरोकारका अध्यक्ष रिजन पाण्डेका अनुसार आज दिनभर भव्य मेला र खेलकुदका कार्यक्रमहरू चल्ने छन् भने भोली खेलकुदका कार्यक्रम सक्काएर मेला समापन गर्ने तयारी रहेको छ । साभार