बाँके\बाँकेको कोहलपुर नगरपालिकाभित्र विभिन्न टोल र गाउँबस्तीका स्थानीय वासीहरुलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धि आवश्यक सूचना तथा जानकारी प्रदान गर्ने कार्यलाई अहिले तीव्र पारिएको छ ।
कोहलपुर नगरपालिकामा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत नगरपालिकाका १५ वडाका विभिन्न गाउँबस्तीहरूमा वैदेशिक रोजगारीमा जान चाहने सम्भावित व्यक्तिहरूलाई समुदायस्तरमा पुगेर सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी जानकारी गराउने काम भइरहेको नगरपालिकाले जनाएको छ ।
रोजगार सेवा केन्द्र कोहलपुरका संयोजक आषिश बर्माले नगरपालिकाका विभिन्न बस्तीमा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी आवश्यक न्यूनतम सूचना तथा जानकारी र वैदेशिक रोजगारसम्बन्धी सेवाहरू प्रदान गर्न सरोकारवालाहरूको सेवा तथा सम्पर्क ठेगानाहरूको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमहरु सञ्चालन भइरहेको जानकारी गराएका छन।
कोहलपुर नगरपालिकाका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । बढ्दो बेरोजगार समस्याका कारण विशेष गरी ग्रामीण क्षेत्रका युवाहरू विदेश गइरहेका छन् । रोजगारीका सिलसिलामा यसरी विदेश गइरहेका युवाहरू गन्तव्यमा पुगिसकेपछि विभिन्न दुःख र पीडा खेप्दै आइरहेका छन् । वैदेशिक रोजगारमा जानेहरले यस्ता दुःख र पीडा खेप्न नपरोस् भन्ने उद्देश्यका साथ सचेतना कार्यक्रमलाई चलाउँदै आएको रोजगार सेवा केन्द्र कोहलपुरले जनाएको छ ।