बाँके \बाँके जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरी र उनकी पत्नी आरतीबीच सम्बन्ध विच्छेदको फैसला सुनाएको छ । यस फैसलामा दुवै पक्षले सम्बन्ध विच्छेदको माग गरेका थिए ।
भुवन गिरीले आरतीसँग सम्बन्ध विच्छेदको माग गर्दै निवेदन दिएका थिए भने आरतीले पनि उक्त मागमा सहमति जनाएकी थिइन् । जिल्ला न्यायाधीश भीष्मराज प्रसाईंको इजलासले दुवै पक्षको मागलाई स्वीकार गर्दै सम्बन्ध विच्छेदको फैसला सुनाएको हो ।
यसैसँगै, भुवन गिरीले आरतीविरुद्ध बेइज्जतीको मुद्दामा दायर गरेका ७ वटा निवेदनमा दाबी नपुग्ने फैसला भएको छ ।
आरतीले खाना खर्चको माग गर्दै दायर गरेको निवेदनमा भने भुवन गिरीले मासिक १२ हजार रुपैयाँ खाना खर्च दिनुपर्ने फैसला भएको छ । यो रकम आरतीले निवेदन दिएको मितिदेखि कार्यान्वयन हुँदासम्म दिनुपर्ने छ ।
भुवन गिरी हाल कारागारमा कैद भुक्तान गरिरहेका छन्। उनलाई पूर्वपत्नी आरतीले जबरजस्ती शारीरिक सम्बन्ध राखेको आरोपमा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरिसकेको छ ।
यस मुद्दामा उनलाई ७ वर्ष कैदको सजाय सुनाइएको छ । बलात्कारको मुद्दा लागेपछि उनी न्यायाधीश पदबाट निलम्बित भएका हुन् । सूचना अधिकारी मल्लका अनुसार केही साता पहिले नै यो फैसला भएपनि बाहिर धेरै प्रचार भएको थिएन ।