सम्माननीय मेयर, उपमेयर, वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्य, सदस्यहरू र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम सेवारत कर्मचारी ज्युहरु,
नमस्कार !
कोहलपुर नगरपालिकाको एउटा आम नागरिकको तर्फबाट यो पत्र लेख्दै गर्दा म गहिरो चिन्तन र गम्भीर आत्मसमीक्षाको आवश्यकताबारे औंल्याउन चाहन्छु । हालैका विभिन्न मूल्यांकनहरू राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको कार्यसम्पादनको प्रारम्भिक नतिजाले आशा भन्दा निराशा छाएको छ ।
यस्तै राज्यका आन्तरिक मुल्यांकनका LISA, FRA, LED सूचकांकहरूको नतिजाले कोहलपुर नगरपालिकालाई कस्तो स्थितिमा देखाउने हो अध्ययनको विषय होला । तर अहिले सार्वजनिक भएको यस स्थितिले कोहलपुर नगरवासीको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।
अनावश्यक टिप्पणी आरोप प्रत्यारोप स्पष्टीकरण तिर लाग्नु भन्दा सुधारमै केन्द्रित हुन आवश्यक छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको प्रतिबेदन सार्वजनिक अन्तिम नभई प्रारम्भिक प्रतिबेदन सम्बन्धि समाचार प्रकाशित पछि कार्यालयका जिम्मेवार ब्यक्तिहरुको सार्वजनिक दृष्टिकोण अभिव्यक्तिले झनै आशंका पैदा गरेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको मुल्यांकनले शिक्षा स्वास्थ्य रोजगार लगायतका क्षेत्रमा सेवा प्रवाह कमजोर छ, पारदर्शिताको कमि छ, वित्तीय अनुशासनहिनत चरम रहेको छ र प्रशासनिक कार्यशैली अझै सुधार हुन सकेको छैन भन्ने तथ्य सार्वजनिक भैसकेको छ ।
नागरिक आवाज र प्रशासनिक उदासीनता
नगरपालिकाका जिम्मेवार पदाधिकारीहरूले नागरिकहरूबाट निरन्तर उठाइएका प्रश्न, सुझाव र गुनासाहरूलाई गम्भीर रूपमा लिनु पर्दछ । नागरिक समाज, संचारमाध्यम र अन्य सरोकारवाला पक्षहरूले पटक-पटक अनियमितता विरुद्ध आवाज उठाएका छन । पारदर्शिता र सूचनाको हकको प्रभावकारी कार्यान्वयनको हुन सकिरहेको छैन । नागरिकले समय समयमा सेवा प्रवाहको सुधारका लागि खबरदारी गरेका छन । तर वास्तविक सुधारको संकेत नदेखिनु गम्भीर चिन्ताको विषय हो ।
नगरपालिकाले सूचना प्रवाहलाई सहज, पारदर्शी र पहुँचयुक्त बनाउन आवश्यक कदम चाल्नु पर्नेछ । जनप्रतिनिधिहरू केवल चुनावी वाचा पूरा गर्न होइन, नागरिक जीवन सहज बनाउन प्रतिबद्ध हुनु पर्दछ ।
वित्तीय अनुशासनको अभाव र योजनाहरूको अनिश्चितता
नगरपालिकाले उपलब्ध बजेटको सही सदुपयोग नगरेको, अनावश्यक खर्च गरेको र योजनाहरू पारदर्शी रूपमा सञ्चालन नगरेको गुनासो नागरिक स्तरमा मात्र सिमित नरहेर राज्यको नियामक तहमा पुगेको छ । सार्वजनिक खरिद खर्च कसरी भइरहेको छ ? कुन योजनामा कति रकम विनियोजन भएको छ ?
अनुगमन संयन्त्र कत्तिको प्रभावकारी छ ? यी सबै प्रश्नहरूको जवाफ नागरिकले खोजिरहेका छन ।
नगरपालिका प्रशासनले वित्तीय पारदर्शिता बढाउन अनलाइन प्रणालीमार्फत खर्च विवरण सार्वजनिक गर्ने, सार्वजनिक सुनुवाइ मात्र नगरी नागरिक बजेट कार्यक्रम लागू गर्ने र प्रत्येक वडास्तरमा अनुगमन समितिहरू प्रभावकारी बनाउने कार्य गर्नुपर्छ ।
सेवा प्रवाह सुधारको प्राथमिकता
नगरपालिकाका सेवाहरू नागरिकमैत्री, छिटोछरितो र प्रविधिमैत्री हुनुपर्छ । तर हाल सेवा प्रवाहमा भएको ढिलासुस्ती, अपारदर्शिता र लापरबाहीले जनतामा निराशा पैदा गरेको छ । शैक्षिक सुधारको अभियानको प्रभावकारीता, स्वास्थ्य सेवाको चरम लापरबाहीको पक्षपोषणले पुष्टि गरेको छ नगरपालिकाको प्रशासनिक क्षेत्रको अवस्था झन गम्भीर छ ।
केही गर्नैपर्छ सेवाप्रवाह सुधारका लागि:
१. प्रशासनिक सुधार: कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकन गर्दै जवाफदेहिता सुनिश्चित गर्ने।
२. डिजिटल प्रविधिको प्रयोग: डिजिटल सेवा प्रणाली लागू गरेर प्रक्रियालाई नियमित छिटो र पारदर्शी बनाउने।
३. सेवा प्रवाहमा निगरानी: सेवाग्राही नागरिकहरूको प्रतिक्रिया राय सुझाव संकलन गर्दै आवश्यक सुधार गर्ने।
अनियमितता र दण्डहीनताको अन्त्य
कोहलपुर नगरपालिकामा अनियमितता र दण्डहीनताका विषयमा विभिन्न तहबाट प्रश्न उठिरहेको छ । योजनाहरू सिमित व्यक्तिहरूको हातमा केन्द्रित हुनु, ठेक्का प्रक्रियामा पारदर्शिता नहुनु, अनि अनुगमन संयन्त्र कमजोर हुनुले दण्डहीनताको स्थिति सिर्जना गरेको छ ।
हामी नगरवासी आशावादी छौं नगरपालिकाले:
अनियमिततामा संलग्न जो-कोहीलाई कारबाहीको दायरामा ल्याउने छ ।
सार्वजनिक खरिद प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउने छ।
नागरिक सेवाग्राही मात्र होइन नियमन नियन्त्रण र समृद्धिको साझेदार रहेको निगरानी संयन्त्र स्थापना गर्ने छ ।
अब आत्मसमीक्षा नगरी सुधार सम्भव छैन
कोहलपुर नगरपालिकाले अब पुरानै शैलीलाई निरन्तरता दिएर समृद्धि हासिल गर्न सक्दैन । नागरिकहरू सचेत छन उनीहरू अधिकारप्रति सचेत छन । यदि नगरपालिका प्रशासनले आवश्यक सुधार नगरेको खण्डमा नागरिक खबरदारी अझ तीव्र हुनेछ ।
खुल्ला पत्रको आशय आग्रह केबल आलोचना गर्नका लागि होइन, सुधारको मार्ग पहिल्याउनका लागि हो । नगरपालिकाले जनताको पक्षमा काम गर्नुपर्छ, नागरिकहरूसँग संवाद बढाउनुपर्छ, वित्तीय सुशासन, पारदर्शिता कायम गर्नुपर्छ र सेवा प्रवाहमा व्यापक सुधार गर्नुपर्छ ।
हामी नगरवासीहरू कोहलपुर नगरपालिकाको विकास चाहन्छौं । यसका लागि तपाईंहरू नेतृत्वकर्ताहरूले आत्मसमीक्षा गर्दै सुधारको बाटो अवलम्बन गर्नुपर्छ । पारदर्शी कार्ययोजना, उत्तरदायी जवाफदेहीता र सुशासनमैत्री सेवा प्रवाहमा उत्कृष्ट नगरपालिका निर्माणका लागि हामी नागरिकहरू तपाईंहरूको साथमा छौं, धन्यवाद !
जनताका जनप्रतिनिधि र सेवाका जनशक्तिलाई बाँकी कार्याकाल सफलताको शुभकामना ।
सधैं सुधार र परिवर्तनको पक्षमा,
भुम बहादुर भण्डारी
कोहलपुर, बाँके