बाँके\वन तथा वातावरण मन्त्रालय अन्तर्गत सञ्चालित एकीकृत भूपरिधि व्यवस्थापन आयोजनाले बाँकेका विभिन्न सामुदायिक वनमा रहेका सिमसार क्षेत्रको पुनरुत्थान गर्दा मानव–वन्यजन्तु द्वन्द्वका घटनामा कमी आउन थालेको छ ।
आयोजनाको कोहलपुर कार्यालयका फिल्ड प्रबन्धक प्रकाश थापाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र १४ तथा कम्दी जैविक मार्गमा नौ गरी २३ वटा पोखरी निर्माण तथा सिमसार क्षेत्रको व्यवस्थापन गरिएको जानकारी गराए ।
फलस्वरूप पानी खोज्न बस्तीतर्फ आउने वन्यजन्तु वनजङ्गलमा रोकिँदा मानव–वन्यजन्तु द्वन्द्वका घटनामा कमी आउन थालेको छ । वनजङ्गलमा पानी नहुँदा पानी खोज्दै मानव बस्तीतर्फ वन्यजन्तु आउँदा मानव र वन्यजन्तुबिचको द्वन्द्वका घटना निकै बढी हुने गरेको तर पछिल्लो समयमा पानी पोखरी निर्माण तथा सिमसार क्षेत्रको पुनरुत्थान गरिँदा वन्यजन्तुको समेत सुरक्षा हुन गएको उहाँले बताउनुभयो । यो काम मानव–वन्यजन्तु द्वन्द्व घटाउन गरिएको थापाले जानकारी गराए ।
फिल्ड प्रबन्धक थापाका अनुसार आयोजनाले भूपरिधिस्तरमा संरक्षित क्षेत्र र जैविकमार्ग व्यवस्थापन, वन्यजन्तु संरक्षण तथा व्यवस्थापन (मानव–वन्यजन्तु द्वन्द्व, वन्यजन्तुमैत्री पूर्वाधार विकास कार्यक्रम) दिगो वन व्यवस्थापन, पर्यापर्यटन, वनमा आधारित जीविकोपार्जन, प्राकृतिक स्रोत व्यवस्थापनमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण र वातावरण तथा वातावरणीय सुरक्षालगायतका क्षेत्रमा विभिन्न काम गर्दै आएको जानकारी दिए । आयोजनाले निर्माण र संरक्षण गरेका पानी पोखरी निकै प्रभावकारी बन्दै गएको सामुदायिक वन उपभोक्ता समूहहरूले जनाएका छन् ।