९ फाल्गुन २०८१, शुक्रबार

एक हप्ताभित्रै बर्दियामा दुई जंगली हात्ती मृत फेला
  • न्युज मानसराेवर

बर्दिया\बर्दियामा एक हप्ताभित्र दुई जङ्गली हात्ती मृत फेला परेका छन् । बुधबार ठाकुरबाबा नगरपालिका वडा नं ३ को झरसलुवा सामुदायिक वनमा करिब ५० वर्षीय भाले हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

हात्तीको शव कुहिन लागेको अवस्थामा फेला परेको छ । एक दाह्रा काटिएको अवस्थामा एक्लै सामुदायिक वनमा हिँड्न हात्तीको मृत्यु भएको स्थानीयले बताएका छन् । सामुदायिक वनका उपभोक्ताहरूले कुहिन लागेको हात्तीको शव देखेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए ।

हात्ती के कति कारणले मरेको हो भन्ने बारेमा अध्ययन भइरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरीले बताए । उनका अनुसार हात्ती ५ दिन अगाडि मरेको हुनसक्ने अनुमान गरिएको छ । हात्ती विरामी भएरै थला परेर मरेको आंकलन उनको छ ।

हात्तीको पोष्टमार्टम गरी सोही स्थानमा गाडिएको छ । हात्तीको के कारणले मृत्यु भएको भन्ने पोष्टमार्टमको रिपोर्टबाट थाहा हुने सूचना अधिकारी चौधरीले बताए । यसअघि फागुन ३ गते ठाकुरबाबा नगरपालिका वडा नं ४ खैलारको गहुँबारीमा जङ्गली भाले हात्ती मृत फेला परेको थियो । करिब ३० वर्ष उमेरको सो हात्ती बिरामी भएर मृत्यु भएको अनुमान बर्दिया राष्ट्रिय निकुञ्जले गरेको थियो ।

  • ७ फाल्गुन २०८१, बुधबार प्रकाशित

  • Nabintech