आफ्नो सुन्दर भविष्य बोकेर भारतमा अध्ययन गर्न गएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा भएको शंकास्पद मृत्यु प्रकरणले सारा नेपालीलाई दुखित र आक्रोशित बनाएको छ ।
यो घटनाको वास्तविकता बाहिर नआउँदासम्म नेपालमा सिंगो भारतप्रति नै नकारात्मक धारणा फैलिरहने तथ्यलाई राम्ररी आत्मसात् गरी भारतको केन्द्रीय सरकारले नै यो घटनाको स्वतन्त्र अनुसन्धान गरेर छिटोभन्दा छिटो सत्यतथ्य बाहिर ल्याउने वातावरण सिर्जना गर्नुपर्छ । नेपाली विद्यार्थी प्रकृतिको मृत्युका बारेमा विभिन्न शंका–उपशंकाहरु भइरहेका छन् । विश्वविद्यालयले प्रकृतिले होस्टेलमा आत्महत्या गरेको बताए पनि उनले के कारणले आत्महत्या गरिन् भन्ने कुराचाहिँ गोप्य राखेको छ ।
प्रकृतिका साथीहरुका अनुसार उनलाई केही समयअघि कलेजमा नै कुनै पुरुषले ‘ह्यारेसमेन्ट’ गरेका थिए । प्रकृतिले त्यसविरुद्ध विश्वविद्यालय प्रशासनमा उजुरी दिएकी थिइन् तर विश्वविद्यालयले सो उजुरीका बारेमा कुनै सुनुवाइ नगरेपछि आत्महत्या गर्न विवश भएको हुन सक्ने आशंका उनका साथीहरुले गरेका छन् । त्यसैले जे–जस्ता घटना घटे यसको मुख्य दोषी विश्वविद्यालय प्रशासन नै देखिएको छ ।
प्रकृतिको मृत्युपछि उनका साथीहरुले सत्यतथ्य पत्ता लगाउन माग गर्दा विश्वविद्यालय प्रशासन र त्यहाँका कर्मचारीहरुले जे–जस्ता हर्कत देखाएर नेपाली विद्यार्थीहरुमाथि अपराधपूर्ण कार्य गरे, त्यो निन्दनीय छ । न्याय माग्दा अन्य विद्यार्थीलाई गुन्डा लगाएर कुटपिट गराउने, विश्वविद्यालयको होस्टेलबाट मध्यरातमा नेपाली विद्यार्थीलाई निकालेर बाहिर सडकमा लगी छोडिदिने र सार्वभौम देश नेपाल र नेपालीलाई अपमान हुनेजस्ता शब्द प्रयोग गरेर गालीगलौज गर्नुले प्रकृतिको मृत्युको घटना झनै रहस्यमय बनेको देखिन्छ ।
कलेज प्रशासनले नेपाली विद्यार्थीको चह¥याइरहेको घाउमा नुनचुक छर्कने काम गर्नु आफैँमा अमानवीय पक्ष हो । यद्यपि अहिले विश्वविद्यालयले केही कर्मचारीलाई कारबाही गरिएको भन्दै नाटक प्रदर्शन गरिरहेको छ । तर उसले जबसम्म प्रकृतिले दिएको उजुरीलाई गम्भीररुपमा लिएर दोषीलाई कारबाही गर्न सक्दैन तबसम्म विश्वविद्यालयले गरेका अन्य कारबाहीले कुनै अर्थ राख्दैन । यदि साँच्चै नै प्रकृति र उनको परिवारलाई न्याय दिने हो भने प्रकृतिलाई आत्महत्या गर्न बाध्य पार्ने व्यक्तिलाई आत्महत्या दुरुत्साहनमा मुद्दा चलाएर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ ।
त्यसो हुन सकेन र यो घटनालाई त्यसै गुपचुप पार्ने प्रयास गरियो भने त्यसले सिंगो उडिसा र भारतको केन्द्रीय सरकारले नै अन्तर्राष्ट्रिय रुपमा बदनामी भोग्नुपर्नेछ । त्यसैले अपराधीलाई जुनसुकै हालतमा पनि कठघरामा उभ्याउन हामी जोडदार माग गर्दछौँ । अहिले त्यहाँ असुरक्षित र आतंकित भएको महसुुस गर्दै कैयौँ नेपाली विद्यार्थीले विश्वविद्यालय छोडेका छन् । भारतमा अध्ययन गर्न गएका अन्य हजारौँ विद्यार्थीले पनि अहिले निकै असुरक्षित महसुस गरिरहेका छन् ।
उडिसा सरकार र केन्द्रीय सरकारले नेपाली विद्यार्थीका लागि पूर्ण सुरक्षाको वातावरण सिर्जना गर्न सबै किसिमका कदमहरु चाल्नु अत्यावश्यक छ । नेपाल सरकारले पनि कूटनीतिक पहल गरी प्रकृतिको हत्याको वास्तविकता पत्ता लगाउन प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुपर्छ, ताकि प्रकृतिका परिवारले नेपाल सरकार आफूहरुको कुशल अभिभावकको भूमिकामा रहेको अनुभूति गर्न सकुन् । यसका लागि प्रधानमन्त्री स्वयंले आवश्यक पहलकदमी लिन अत्यावश्यक छ ।