११ फाल्गुन २०८१, आईतवार

बाँकेमा पर्यटन प्रर्वद्धनका लागि ६ बुँदे घोषणा—पत्र जारी
  • न्युज मानसराेवर

कोहलपुर\मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण र वैकल्पिक जीविकोपार्जन प्रवद्र्धनमा स्थानीय पर्यटन उद्यमीहरुको अवसर सुदृढिकरण गर्न बाँकेमा कार्यशाला गोष्ठिको आयोजना गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जको आयोजना तथा जेडएसएल नेपाल र इन्हुडेक कोहलपुरको साझेदारीमा आज कोहलपुरमा सम्पन्न  गरिएको कार्यशाला गोष्ठिमा स्थानीय, प्रदेश र संघिय जनप्रतिनीधिहरुसंगै विभिन्न उद्योग सञ्चालन गरीरहेका युवा व्यवसायी, सम्बद्ध सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो । गोष्ठिमा स्थानीय पर्यटन उद्यमीहरुका अवसर सुदृढिकरणका लागी   ६ बुँदे घोषणा—पत्र जारी गरिएको छ ।

बाँके क्षेत्रनं. १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य सुर्य ढकालले बाँके जिल्ला पर्यटकिय क्षेत्रको प्रशस्तै सम्भावना बोकेको बताउँदै सरकारले बाँकेको विकासमा बाँके राष्ट्रिय निकुञ्जले महत्वपुर्ण भूमिका खेलेको र आगामी दिनहरुमा पनि खेल्ने धारणा व्यक्त गरे ।

त्यसै गरी बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा हाल बाघको संख्या २३ रहेको र बाघको संख्या बढेसंगै संरक्षणमा चुनौती थपिएको बताउँदै बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको सङ्ख्या बढाउनका लागि घाँसे मैदानको क्षेत्रलाई बढाउँदै लगिएको निकुञ्ज प्रमुख कंडेलले जानकारी दिए ।

उनले निकुञ्जमा बढ्दोे मानव बन्यजन्तु द्वन्द्वलाई न्यूनिकरण गर्नको लागि निकुञ्ज आसपासका वस्तिमा विभिन्न गतिविधि गरिएको जानकारी
दिए । प्रमुख संरक्षण अधिकृत कंडेलले निकुञ्ज मानव बन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न र मध्यवर्ती क्षेत्र आसपास बसोवास गर्ने मानिसहरुको जीवनस्तर उकास्नका लागि वनमा आधारित व्यवसायलाई प्रर्वद्धन गर्न निकुञ्ज कार्यालय तयार रहेको स्पष्ट पारे ।

उनले बिषेशगरी पाटे बाघ संरक्षरणका लागि स्थापना गरिएको यस निकुञ्जको प्रचारप्रसार गरी समग्र पर्यटन व्यवसायलाई अगाडी बढाउन आफुहरु तयार रहेको समेत बताए ।उनले निकुञ्ज आसपासको ओभरी नजिकैका क्षेत्रमा हात्ती सफारी, जङ्गल ड्राइभ र पैदल यात्राको प्याकेज निर्माण गरिएको बताए । यसैगरी गिद्देनीचौरमा मचान निर्माण गरी जङ्गल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जङ्गल ड्राइभको व्यवस्था गरिएको स्पष्ट पारे ।

कार्यक्रममा लुम्बिनी पर्यटन विकास परिषदको कार्यकारी निर्देशक रामु जोशीले बाँकेको पर्यटन प्रर्वद्धनका लागि यस क्षेत्रका सबै धार्मिक स्थल र पर्यटकीय क्षेत्रको भ्रमण गर्न सहज वातावरण बनाउने बताए । उनले भने,‘बाँके पर्यटनको धेरै नै सम्भावना भएको जिल्ला हो । यहाँका पर्यटकिय क्षेत्रलाई प्रवद्र्धन गर्नको लागि प्रदेश परिषदले टुर प्याकेजको कार्यक्रमहरु चाँडै नै ल्याउन योजना रहेको छ ।’

पर्यटन प्रवद्र्धनका लागि परिषदले बनाउने योजनामा अन्तरप्रदेश समन्वयले सहकार्य गर्नेमा उनले विश्वास व्यक्त गरे । यसका साथै उनले पर्यटकीय क्षेत्रमा कलम चलाउने सञ्चारकर्मी र सञ्चारमाध्यमहरुलाई राज्यले विशेष संरक्षण गर्न आवश्यक रहेको औंल्याए । कार्यक्रमका अतिथि तथा राप्तिसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल, नरैनापुर गाउँपालिकाका अध्यक्ष मो. इस्तीयाक अहमद साहले पर्यटन विकासका लागि गाउँपालिकाले आबश्यक बजेट विनियोजन गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

सो कार्यशाला गोष्ठिमा बाँकेको महेन्द्र बहुमुखि क्याम्पसका सहप्रध्यापक हरी सुवेदीले बाँके पर्यटकीय गन्तव्य बने पनि व्यवसायिक योजना बन्न नसकेको बताउँदै यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरोकारवाला निकायका सबैको सहकार्य हुन आवश्यक रहेको बताउँदै यहाँको चुरे क्षेत्रलाई विशेष संरक्षण गर्न जोड दिए ।इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायाले मानव वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरणका लागी सम्बन्धित स्थानीय तहले जीविकोपार्जन सम्बन्धी विभिन्न किसिमका तालिम, छलफल, सीप विकास लगायतका कुराहरुमा जोड दिनु पर्ने बताए ।

स्थानीय पर्यटन उद्यमीहरुका अवसर सुदृढिकरणका लागी जारी ६ बुँदे घोषणा—पत्र निम्न रहेका छन।

१. पर्यटन प्रर्वद्धनका लागी स्थानीय उत्पादनलाई जोड दिई बजारीकरण समेत गर्ने ।

२. भौतिक पूर्वाधारको विकास गर्दा गराउँदा पर्यटनमैत्री र फोहरमैला व्यवस्थापनलाई ध्यान दिई गर्ने गराउने ।

३. बाँके राष्ट्रिय निकुञ्जमा पर्यापर्यटन प्रर्वद्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने गराउने ।

४. सम्बन्धित सबै सरोकारवालाहरु निकायले आ—आफ्नो क्षेत्रबाट गर्नुपर्ने क्रियाकलापहरु आपसी समन्वय र सहकार्यमा तत्काल गर्ने गराउने प्रतिबद्धता गर्ने ।

५. संघ प्रदेश र स्थनीय नीति तथा कार्यक्रममा पर्यटन प्रर्वद्धनका लागी निश्चित प्रतिशत बजेट विनियोजनका गरी सोको प्रभावकारी कार्यन्वयनका लागि जोड दिने ।

६. सबै सरोकारहरुको संलग्नतामा बाँके राष्ट्रिय निकुञ्ज तथा यसका मध्यवर्ती क्षेत्रहरुमा हुन सक्ने पर्यटनका गतिविधिहरु मध्ये प्रचारात्मक कार्यहरु, पर्यटकलाई नेचर गाईडसंग जोड्ने कार्यहरु, होमस्टे प्रर्वद्धनका कार्यहरु, फोहरमैला व्यवस्थापनका कार्यहरु र अन्य पर्यटकीय पूर्वाधार विकासका कार्यहरुमा समन्वय र सहकार्य गरी समग्र पर्यटन विकास गर्ने ।

  • १० फाल्गुन २०८१, शनिबार प्रकाशित

  • Nabintech