बाँके\उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व र देशको समस्या समाधानका लागि कांग्रेस, एमाले गठबन्धन सरकार निर्माण भएको बताएका छन।
नेपाली कांग्रेस बाँकेले मङ्गलबार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले सरकारले आफ्नो उद्देश्य अनुरूप काम गरिरहेको जनाउँदै आगामी निर्वाचनसम्म कांग्रेस–एमाले गठबन्धन जारी रहने बताए ।
उनले सहमति अनुसार २०८४ सालको निर्वाचन नेपाली कांग्रेसका सभापतिको नेतृत्वको सरकारले गराउने जनाउँदै यो सरकार सफल बनाउन सबैले आआफ्ना ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए । वर्तमान सरकारले राजनीतिक स्थायित्व कायम गर्नुका साथै विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गरिरहेको बताउँदै उपप्रधानमन्त्री सिंहले सरकारले देश र जनताको उन्नतिका लागि अहोरात्र काम गरिरहेको औल्याए ।
उनले भने “कांग्रेस–एमाले गठबन्धनको सरकार निर्माण भएसंगै प्रतिपक्षीहरूले सरकार टिक्दैन भनेर हल्ला गर्दै आए पनि सात महिना बितिसकेको र झन् बलियो तथा सुदृढ भएर सरकारले काम गरिरहेको छ ।” कसैले होहल्ला गर्दैमा सरकारको स्थायित्वमाथि कुनै पनि प्रभाव नपर्ने र आगामी निर्वाचनसम्मै यो गठबन्धन कायम रहने दाबी उपप्रधानमन्त्री सिंहले गरे । नेपाली कांग्रेस एकढिक्का भयो भने कांग्रेसले बहुमत ल्याउने प्रस्ट समेत पारे ।
नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर ३ का सङ्घीय सांसद किशोरसिंह राठौरले देशमा केही पनि भएको छैन र देश नै समाप्त हुन लाग्यो भन्ने कुरा गलत भएको जनाउँदै त्यस्ता गलत भाष्यका पछाडि नलाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौला, संविधान सभा सदस्य बादशाह कुर्मी, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, उपसभापति गोपाल अधिकारीलगायतका नेता कार्यकर्ताले पनि वर्तमान अवस्थाका बारेमा आआफ्ना धारणा र जिज्ञासा राखेका थिए ।