बाँके\लुम्बिनी प्रदेश सरकारको राजस्व सङ्कलनमा कमजोर देखिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको माघ मसान्तसम्म कुल अनुमानित लक्ष्यको ४४ प्रतिशतमात्र राजस्व सङ्कलन गरेको छ ।
प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख दीपक ज्ञवालीका अनुसार सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान तथा बाँडफाँटबाट प्राप्त हुने विभिन्न कर, आन्तरिक आय तथा नगद मौज्दात बापत माघसम्म १७ अर्ब १५ करोड ७९ लाख रुपैयाँ सङ्कलन भएको हो ।
प्रदेशको आन्तरिक स्रोतबाट ४ अर्ब ७१ करोड २० लाख रुपैयाँ उठाउने लक्ष्य भए पनि माघ महिनाको अन्त्यसम्म एक अर्ब ५ करोड ९९ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ, जुन जम्मा २२ प्रतिशतमात्रै हो ।
प्रदेश सरकारले आन्तरिक आयतर्फ रहेको कृषिमा ५२ लाख ६१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा जम्मा १ हजार ५ सयमात्रै सङ्कलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । सरकारी सम्पत्तिको बहालबाट ७८ लाख ३२ हजार सङ्कलन गर्ने लक्ष्य रहे पनि हालसम्म ४ लाख ३६ हजार ४०६ रुपैयाँमात्रै सङ्कलन भएको छ ।
अन्य स्रोतबाट प्राप्त बाँडफाँट नहुने रोयल्टीबाट ४ लाख ६ हजार २६७ रुपैयाँ सङ्कलन भएको छ । यस्तै कृषि उत्पादनको बिक्रीबाट ४ करोड ६९ लाख ९४ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा हालसम्म ६९ लाख ३० हजार ६० रुपैयाँ राजस्व सङ्कलन भएको छ । अन्य स्रोतबाट पनि अपेक्षा गरिएअनुसार राजस्व सङ्कलन भएको छैन ।