१६ फाल्गुन २०८१, शुक्रबार

दशौँ राष्ट्रिय खेलकुद जेठ ३ गतेदेखि
  • न्युज मानसराेवर

बाँके\कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवम् युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा आज बसेको १२१औँ बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।

यसअघि राखेपको ११८औँ बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुद आगामी  चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो । बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
साथै नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल सङ्घलाई निलम्बन गर्ने निर्णय गरिएको छ । निलम्बनमा परेका राष्ट्रिय खेल सङ्घमा नेपाल ब्याडमिन्टन सङ्घ, नेपाल टेनिस सङ्घ, नेपाल साइक्लिङ सङ्घ, नेपाल एथलेटिक्स सङ्घ, नेपाल जिम्न्याष्टिक सङ्घ र नेपाल भारोत्तोलन सङ्घ रहेका छन् । राखेप कार्यकारी समितिको बैठकले उक्त ६ खेल सङ्घलाई कारबाही स्वरुप निलम्बन गर्न गरेको सिफारिसलाई राखेप बोर्ड बैठकले अनुमोदन गरेको हो ।

  • १६ फाल्गुन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech