२३ बैशाख २०८२, मंगलवार

खेल क्षेत्रलाई पर्यटनसँग जोडेर अगाडि बढाउन आवश्यक : मुख्यमन्त्री आचार्य
  • न्युज मानसराेवर

कोहलपुर\तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लबले बिजयी सुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा लुम्बिनी फुटबल एडेकेमीलाई २–० गोल अन्तरले हराउँदै आयोजक टिमले विजयी सुरुवात गरेको हो ।

कोहलपुर रेसिङ साहारा फुटबल क्लबलाई जिताउन पहिलो हाफको २१ औँ मिनेटमा जर्सी नम्बर ११ का निराजनजंग शाहीले पहिलो गोल गरेका थिए । दोस्रो हाफको ६५ औँ मिनेटमा आयोजक क्लबकै क्षितिज थापाले दोस्रो गोल गरे । शाही र थापाको गोलबाट प्रेरित कोहलपुर रेसिङ साहारा फुटबल क्लबले प्रतियोगितामा पहिलो जित दर्ता गर्न सफल भएको हो ।

लुम्बिनी फुटबल एडेकेमी,घोराही दाङले भने थुप्रै अवसर पाएपनि गोल गर्न नसक्दा पराजित हुन पुगेको छ । पहिलो खेलमा आफ्नो टिमलाई जिताउन पहिलो गोल गरेका कोहलपुर रेसिङ साहारा फुटबल क्लबका निराजनजंग शाही म्यान अफ द म्याद घोषित भए । उनले नगद पाँच हजार र ट्रफी प्राप्त गरेका छन् ।प्रतियोगिताका संयोजक कर्ण बस्नेतका अनुसार प्रतियोागिताको दोस्रो दिन आईतबार दिउँसो २ बजे भारतको साहारा फुटबल क्लब र राइजिंङ स्टार फुटबल क्लब नवलपरासीबीच हुनेछ ।

प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । घानाको अफ्रिकन राष्ट्र घाना फुटबल क्लब, भारतको साहारा फुटबल क्लबसहित प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्बल गण्डकी प्रदेश र कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको सहभागिता रहेको छ । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपियाँ पुरस्कार पाउनेछन् ।

शनिबार एक समारोहकाबीच लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गरे । मुख्यमन्त्री आचार्यले खेलाडीहरुलाई खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि यो गोल्डकप महत्वपूर्ण रहेको बताए । विदेशी टिम सहभागी हुने प्रतियोगिताले कोहलपुरको मात्र नभएर देशकै पहिचान बढाउने उनले बताए ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश खेलकुद क्षेत्रमा समृद्ध बन्दै गएको बताए । उनले खेल क्षेत्रलाई पर्यटनसँग जोडेर अगाडि बढाउन आवश्यक रहेको उल्लेख गरे । उनले भने, ‘लुम्बिनी प्रदेश खेलकुद क्षेत्रमा समृद्ध बन्दै गएको छ। युवा खेलाडीलाई आकर्षित गर्न सफल भएका छौं । खेलकुदले बाह्य देशका नागरिकलाई समेत भित्र्याउने भएकाले यसको भूमिका महत्वपूर्ण बन्दै गएको छ ।’

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा खेल पूर्वाधार निर्माण, खेलाडी पहिचान, उत्पादन र क्षमता विकासलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको जानकारी गराए । खेल पूर्वाधार सुधार गर्न स्थानीय तहसँग सहकार्य गर्दै प्रदेश सरकारले अगाडि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

प्रदेश सरकारले खेल क्षेत्रको विकासका लागि आवश्यक सबै उपायहरू अवलम्बन गर्ने बताउँदै उनले बाँके र बर्दिया जिल्लालाई विशेष प्राथमिकता दिएको स्पष्ट पारे । उनका अनुसार चालू आर्थिक वर्षमा बाँके जिल्लाका लागि मात्र २ अर्ब ४० करोड रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएको छ।उद्घाटन कार्यक्रममा प्रदेश सभम सदस्य, स्थानीय तहका जनप्रतिनिधि, खेल प्रेमी तथा सामाजिक अगुवाहरुको सहभागिता थियो ।

  • १७ फाल्गुन २०८१, शनिबार प्रकाशित

  • Nabintech