कोहलपुर\मुख्यमन्त्री कोहलपुर गोल्डकपमा कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको छ ।
आज प्लानिङ व्वाईज युनाइटेड क्लब,काठमाडौँलाई पेनाल्टी सुटआउटमा हराउँदै कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको हो । दोस्रो हाफको ४७औँ मिनेटमा कोहलपुर रेसिङ साहारा क्लबका श्याम बिडारीले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
खेलको ५६औँ मिनेटमा प्लानिङ व्वाईज युनाइटेड क्लब,काठमाडौँ ओम प्रकाश चौधरीले बराबरी गोल फर्काए ।निर्धारित समयमा ११ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा प्लानिङलाई ४–३ ले हराउँदै कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको हो ।
आयोजक कोहलपुर रेसिङ साहारा क्लबको यो दोस्रो जित हो । समूह चरणको पहिलो खेलमा कोहलपुर रेसिङ साहारा क्लबले लुम्बिनी फुटबल एकेडेमीलाई हराएको थियो । खेलको म्यान द म्याच कोहलपुर रेसिङ साहारा क्लबका गोलकिपर अमानत शेष भए ।
उनले नगद् पाँच हजार रुपैयाँ प्राप्त गरे । शेषलाई नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रसान्त विष्ट र कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले नगद्सहित ट्रफी हस्तान्त्रण गरेका थिए ।
कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७गतेदेखि प्रतियोगिता सुरु भएको हो । घाना र भारतीसहित आठ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता फागुन २४ गतेसम्म चल्नेछ ।