बाँके । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीस्तरीय दोस्रो संयुक्त बैठकबाट गठित सुझाव समितिको प्रतिवेदन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइएको छ ।
समितिका संयोजक सामाजिक विकास मन्त्रालयका सचिव अणप्रसाद न्यौपाने र सदस्यसचिव सुशील बस्नेतले मुख्यमन्त्रीको कार्यालयमा सो प्रतिवेदन मुख्यमन्त्री आचार्य, प्रमुख सचिव बाबुराम अधिकारीलाई बुधबार हस्तान्तरण गरेका हुन।
सुझाव समितिको प्रतिवेदनमा कर्णाली नदीको बहाबलाई सन्तुलित राख्न विशेष योजना अघि सार्नुपर्ने उल्लेख छ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रसँगको समन्वयमा जलप्रवाह अवरुद्ध भएका नौ स्थानबाट करिब आठ लाख १८ हजार ७५० घनमिटर नदीजन्य पदार्थ हटाउनुपर्ने, यसका लागि सङ्घीय सरकारबाट अनुमति लिएर तत्काल कार्य प्रारम्भ गरिनुपर्ने उल्लेख छ ।