२६ फाल्गुन २०८१, सोमबार

पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले सम्मानित गर्यो साहित्यकार
  • न्युज मानसराेवर

बाँके\पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले एक कार्यक्रमको आयोजना गरेर स्रस्टा सम्मान, एकल कविता वाचन र सङ्घर्ष सँगाती कार्यक्रम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा २५ हजार ५५५ रुपियाँ राशीको पूर्णिमा साहित्य रत्न २०८० बाट वरिष्ठ साहित्यकार प्रा.डा. देवी नेपाललाई र सात हजार ७७७ रुपियाँ राशीको तुलसीराम स्मृति पुरस्कार २०८० बाट वरिष्ठ साहित्यकार गणेश जिसीलाई पुरस्कृत र सम्मानित गरिएको छ । सोही अवसरमा विद्यावारिधि गर्ने संस्थाका आजीवन सदस्य हरिप्रसाद तिमिल्सिेनालाई पनि सम्मान गरिएको थियो ।

पूर्णिमा साहित्य रत्न पुरस्कार वि.स.२०७९ मा स्थापना भई वि.स.२०७० देखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ भने तुलसीराम स्मृति पुरस्कार वि.सं. २०६२ मा स्थापना भई २०६३ देखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ । सो सम्मान कार्यक्रममा बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका सदस्य सांसद सूर्य ढकाल र पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्कर रिजालले सम्मानित साहित्यकारहरुलाई दोसल्ला ओढाई सम्मान पत्र र नगद पुरस्कार प्रदान गरेर पुरस्कृत तथा सम्मानित गरेका थिए ।

सो अवसरमा बोल्नुहुँदै सांसद ढकालले पछिल्लो समय पश्चिम नेपालमै सबैभन्दा बढी साहित्यिक गतिविधि र कार्यक्रम हुने सहर कोहलपुर बनेको बताउँदै खुशी व्यक्त गरे । सम्मानित हुनुभएका वरिष्ठ साहित्यकार प्रा.डा नेपालले साहित्यकारहरुलाई सम्मान र पुरस्कृत गर्नु भनेको साहित्यमा आउन चाहने नयाँ पुस्तालाई उत्साहित गर्नुपर्ने बताए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार नेपालले एकल कविता वाचन समेत गरेका थिए । उक्त अवसरमा नै आयोजना गरिएको सङ्घर्ष सँगाती कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा जनार्दन आचार्य र किरण आचार्यको बिचमा जीवन सङ्घर्ष, उपलब्धि, शिक्षा र साहित्यसम्बन्धी अन्तर संवादको दोस्रो शृङ्खला पनि सम्पन्न गरिएको पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष रिजालले बताए ।

  • २५ फाल्गुन २०८१, आईतवार प्रकाशित

  • Nabintech