२८ फाल्गुन २०८१, बुधबार

प्रथम बन्यो बाँके एचपीभी खोप लगाउने अभियानमा
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशका जिल्लाहरूमध्ये सबैभन्दा बढी बाँकेमा १०१।२ प्रतिशतलाई पाठेघर मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाएर प्रदेशमै पहिलो जिल्ला बन्न सफल भएको छ ।

सरकारको लक्षित वर्ग र उपलब्धिको आधारमा लुम्बिनी प्रदेशका जिल्लाहरू मध्ये सबैभन्दा बढी बाँकेमा १०१।२ प्रतिशतले खोप लगाएर प्रथम बनेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराएका छन।

गत माघ २२ देखि फागुन १९ गतेसम्म चलेको सो खोप अभियानमा बाँकेका ३३ हजार ३७५ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेकोमा ३३ हजार ७५९ जना किशोरीले खोप लगाएका छन।बाँकेमा लक्ष्यभन्दा १.२ प्रतिशतभन्दा बढीलाई एचपीभि खोप लगाएर यो जिल्ला प्रदेशमै सबैभन्दा अगाडि रहेको फोकल पर्सन श्रेष्ठले  जानकारी गराए।

बाँकेको राप्ती सोनारीमा तीन हजार १४१, कोहलपुरमा छ हजार दुई सय, बैजनाथमा तीन हजार ८३३, खजुरामा पाँच हजार एक सय, जानकी गाउँपालिकामा दुई हजार १७०, नेपालगन्जमा आठ हजार पाँच सय, डुडुवामा दुई हजार ३१० र नरैनापुरमा दुई हजार ५०५ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयका बाँकेका प्रमुख सुनिता पौडेलले जानकारी गराईन।

खोपको उपलब्धिका आधारमा बाँकेको स्थानीय तहहरूमध्ये खजुरामा १५६.८, नेपालगन्जमा १०२.९, नरैनापुरमा १००.६, डुडुवामा ९९.२, राप्ती सोनारीमा ९७.८, बैजनाथमा ९६.६, जानकीमा ९०.२ र कोहलपुरमा ८३.१ प्रतिशतले खोप लगाएको छ ।

चिकित्सकका अनुसार नौ देखि १४ वर्षको उमेर भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । किनकि यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुन्छ ।

स्वास्थ्य कार्यालयका अनुसार एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले राम्रो परिणाम दिन्छ । किनभने खोपले सङ्क्रमण हुनबाट बचाउँछ । तर शरीरमा पहिला नै भाइरस बसिसकेको भए सङ्क्रमणमुक्त भने बनाउन सक्दैन ।

  • २८ फाल्गुन २०८१, बुधबार प्रकाशित

  • Nabintech