नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको गुटबन्दीको कारण देशभरका आंगिक क्याम्पसमा स्ववियु निर्वाचन प्रभावित हुने देखिएको छ । देउवा निकट संस्थापन पक्ष र शेखर कोइराला पक्षधर नेविसंघको कारण स्ववियु निर्वाचन प्रभावित हुने देखिएको छ । देशभर ६२ आंगिक क्याम्पस छन् ।
क्याम्पसमा प्रक्रिया भाँडिएको छ । केहीमा तालाबन्दी छ भने केहीमा उम्मेदवारको विषयमा विवाद देखिएको छ । उम्मेदवार मनोनयन गर्दा संस्थापन पक्षले कोइराला पक्षधर विद्यार्थीलाई उम्मेदवार नबनाएको झोकमा देशका अधिकांश क्याम्पसमा निर्वाचन भाँडिन सक्ने भएको छ । देउवा र कोइराला पक्षधर विद्यार्थीको कारण उम्मेदवारी मनोनयन भएको दिन करिब दर्जन बढी क्याम्पसमा कोइराला पक्षले उम्मेदवारी दिएका छन् ।
बागी उम्मेदवारी दिनेमा शेखर कोइराला पक्षको हाबी देखिएको छ । त्रिबि केन्द्रीय क्याम्पस, थापाथली इन्जिनियरिङ, त्रिचन्द्र, आरआर, ठाकुरराम बहुमुखी, महेन्द्र मोरङलगायत क्याम्पसमा कोइराला पक्षले उम्मेदवारी दिएका छन् । हिजो बिहीबार दाबी विरोध र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम थियो ।
दुई पक्ष अडानको कारण केहीबाहेक अधिकांश क्याम्पसमा कोइराला पक्षधर उम्मेदवारले उम्मेदवारी फिर्ता लिएनन् । अडान कायम राख्दा नेविसंघकै दुई गुट देखियो । उम्मेदवारी फिर्ता नलिएपछि अब नेविसंघमा दुई गुट प्रस्ट देखिएको छ । गुटका विद्यार्थीले आफू निकटका उम्मेदवारलाई मत दिनेछन् । त्यसका कारण नेविसंघलाई ठूलो धक्का लाग्न सक्छ । अर्थात् नेविसंघले वर्चश्व कामय गरेको क्याम्पसमा पनि पराजय भोग्नुपर्ने हुन्छ ।
कसलाई उम्मेदवारी दिने ? भन्ने विषयमा विवाद हुँदा र नेतृत्वले समाधान गर्न नसक्दा त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघ आबद्ध आधा दर्जनले बागी उम्मेदवारी दिएका थिए । नेविसंघमा केन्द्र र इकाइले फरक–फरक अध्यक्षलाई मनोनयनपत्र पठाएपछि सो क्याम्पसमा विवाद भएको थियो ।
केन्द्र र इकाइले फरक–फरक उम्मेदार घोषणा गरेपछि नेविसंघमा समस्या चुलिएको छ । उम्मेदवारी चयनमा आफूखुशी निर्णय गरेको आरोपमा नेविसंघका असन्तुष्ट र आधिकारिक उम्मेदवारले तालाबन्दी गरेका छन् । उता पूर्वाञ्चलकै ठूलो महेन्द्र मोरङ क्याम्पसमा कोइराला समूहले निर्वाचन कार्यालयमा आगजनी र तालाबन्दी गरेका छन् । तालाबन्दीलगत्तै प्रहरी टोलीले ताला फुटाइदिएको छ ।
क्याम्पस प्रमुखलाई ढोका थुनेर आगजनी गरेपछि त्यहाँको स्थिति नतावपूर्ण भएको छ । कोइराला पक्षका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारी बनाएको विरोधमा निर्वाचन कार्यालयमा आगजनी गरी ताला लगाइएको थियो । वीरगन्जको ठाकुरराम बहुमखी क्याम्पसमा पनि दुई प्यानलमा बागीले उम्मेदवारी दिएका छन् । अधिकांश क्याम्पसमा अध्यक्ष पदमा बागीमा उम्मेदवारी दिएका छन् । यसले गर्दा देशभरका १२ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएको छ । चैत ५ गते ५० आंगिक क्याम्पसमा मात्र निर्वाचन हुने सम्भावना छ ।
त्रिविअन्तर्गत ६२ आंगिक क्याम्पसमध्ये उपत्यकाका ६ र उपत्यकाबाहिरका ६ गरी १२ वटामा मनोनयन हुन सकेन । मिनी संसद्को रुपमा हेरिएको स्ववियु निर्वाचनमा आफ्नै संगठनबीच झगडा हुँदा मत परिणाममा फेरबदल हुनेछ । विद्यार्थीबीच एकताभन्दा झडपको अवस्था सिर्जना भएको छ । त्यसैले झगडा गर्नुभन्दा मिलेर निर्वाचनमा होमिनु आवश्यक हुन्छ । त्यसको लागि विद्यार्थी संघ–संगठनबीच आपसी समझदारी र समन्वय हुनुपर्छ । त्यसो भए मात्र सोचेको परिणाम हात पर्छ ।