इटहरी – समता स्कुल इटहरीले कक्षा ९ का विद्यार्थीहरूका लागि कोशी टप्पु वन्यजन्तु आरक्षणमा एकदिने प्राकृतिक अवलोकन भ्रमण सम्पन्न गरेको छ। विद्यालयले विद्यार्थीसँग व्यावहारिक सिकाइलाई जोड्न र प्रकृति संरक्षणप्रति सचेतना बढाउन यो भ्रमणको आयोजना गरेको हो।
विद्यार्थीहरूले भ्रमणका क्रममा विविध जीवजन्तु, चराचुरुंगी, वनस्पति तथा जैविक विविधताको अध्ययन गरे। साथै, आरक्षणमा रहेको संग्रहालयको अवलोकन गर्दै विज्ञान विषयसँग सम्बन्धित विभिन्न पाठहरूलाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर पाए। दुर्लभ जनावरहरूको अवलोकन गर्दै विद्यार्थीहरूले कोशी टप्पु वन्यजन्तु आरक्षणको महत्त्वबारे नयाँ ज्ञान हासिल गरेका थिए।
विद्यालयका प्रधानाध्यापकका अनुसार, पाठ्यपुस्तकको ज्ञान मात्र नभई परियोजना र प्रयोगात्मक शिक्षणलाई समेत प्राथमिकता दिने उद्देश्यले यस्तो भ्रमणको आयोजना गरिएको हो। उनले अघिल्लो महिना कक्षा ८ का विद्यार्थीहरूलाई भारतको सिलिगुडीस्थित विज्ञान तथा आविष्कार केन्द्रमा लगिएको जानकारी पनि दिए।
न्यून तथा सबै कक्षामा समान शुल्क लिई अध्यापन गराउंदै आएको विद्यालयले न्यूनतम स्रोतसाधनकै सीमाभित्र रहेर पनि समयसापेक्ष शिक्षण पद्धतिलाई अघि बढाइरहेको भन्दै अभिभावकहरूले प्रसंसा गरेका छन्। सहभागी विद्यार्थीहरूले यो भ्रमणबाट पर्यावरणीय महत्त्व, प्रकृति संरक्षण र वन्यजन्तुको भूमिकाबारे नयाँ ज्ञान पाएको अनुभव सुनाए।