काठमाडौं । नेपालका अधिकांश जिल्ला सहित भारत, बंगलादेश, श्रीलंका र म्यानमारमा विद्यालय स्थापना गरि सम्पूर्ण कक्षामा समान तथा न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समता स्कुलको मातृ संस्था समता शिक्षा निकेतन, काठमाडौं ले स्थापनाको २५ औं बार्षिकोत्सव विविध कार्यक्रमसहित भव्य रूपमा मनाएको छ।
सबैका लागि शिक्षा भन्ने मूल नाराका साथ २५ वर्षअघि काठमाडौंको नयाँ बस्तीमा बाँसका भाटाबाट निर्मित कक्षाकोठाबाट मासिक रु १००/- मै अंग्रेजी माध्यममा अध्यापन सुरु गरेको समता स्कुलले आजसम्म हजारौं विद्यार्थीलाई सुलभ शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याएको छ। साथै नेपालका अधिकांश जिल्लामा आफ्नो बलियो उपस्थिती पनि जनाएकोछ।
रजत जयन्ती समारोह विद्यालयको आफ्नै प्राङ्गणमा आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सिपल बिनोद खड्काले गरेका थिए भने प्रमुख अतिथिको रूपमा गोकर्णेश्वर नगरपालिकाका नगर शिक्षा अधिकृत वीर बहादुर खड्का उपस्थित थिए। कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरूको साँस्कृतिक प्रस्तुतिले उपस्थित अतिथि, अभिभावक, र विद्यार्थीहरूलाई आकर्षित गरेको थियो।
कार्यक्रममा बोल्दै समता स्कुलका संस्थापक उत्तम संजेल ले समता स्कुल अब जापानको टोकियोमा पनि सञ्चालन हुने जानकारी गराए। साथै, उनले समता स्कुलले विगत २५ वर्षमा राष्ट्रसेवामा गरेको योगदान स्मरण गर्दै विद्यालय, शिक्षक, विद्यार्थी, तथा अभिभावकहरूको समर्पण र मेहनतलाई सम्मान प्रकट गरे।
समारोहलाई थप प्रभावकारी बनाउन समता अस्पतालको प्राविधिक सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, तथा छिमेकी विद्यालयका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।