बाँके\नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपमा बढेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात ११ दशमलव २० र निर्यात ५७ दशमलव २० प्रतिशतले बढेको छ । अर्थात् गतवर्षको तुलनामा यसवर्ष नेपालको निर्यातमा खानेतेलको निकै ठूलो हिस्सा देखिएको छ ।
पछिल्लो आठ महिनामा रू एक खर्ब ५८ अर्बको निर्यात गर्दा नेपालले रू ४७ अर्ब ९४ करोड ६६ लाख बराबरको भटमास (सोयाबिन) तेल मात्रै निर्यात गरेको छ । त्यस्तै, रू सात अर्ब ९८ करोड २३ लाख बराबरको सूर्यमुखी तेल, रू पाँच अर्ब ८३ करोड ७३ लाखको अलैंची, रू चार अर्ब ३२ करोड ३९ लाखको कार्पेट निर्यात भएको छ ।
विभागका अनुसार चालु आवको दोस्रो चौमासिक अवधिसम्म मुलुकले कुल रू १३ खर्ब तीन अर्ब ७३ करोड ८६ लाख बराबरको वैदेशिक व्यापार गर्दा रू नौ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाखको घाटा बेहोरेको छ । पछिल्लो आठ महिनामा रू ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख बराबरको वस्तु आयात भएको छ भने रू एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख बराबरको निर्यात भएको छ ।