१७ चैत्र २०८१, सोमबार

भैरहवामा पूर्वराष्ट्रपति भण्डारीको ४ दिने धार्मिक भ्रमण
  • न्युज मानसराेवर

बाँके\पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ४ दिने भ्रमणका लागि बिहीबार भैरहवा आएकी छन् । आफ्नो बसाइका क्रममा उनले अधिकांश समय भेटघाटमा बिताउने भएकी छन् ।खासगरी एमालेका नेता–कार्यकर्ताहरूसँग उनको भेटघाट हुने बताइएको छ । भैरहवामा बिहीबार उनको औपचारिक  कार्यक्रम नरहे पनि रुपन्देहीका एमाले नेता तथा जनप्रतिनिधिहरू उनको स्वागत तथा भेटघाटका लागि पुगेका छन् ।

एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चा भइरहँदा भण्डारी विभिन्न प्रदेशको भ्रमण गर्दैछिन् । यसअघि गण्डकी र कोशी प्रदेशको भ्रमण गरेकी उनी अहिले लुम्बिनीको भ्रमणमा आएकी हुन् ।

भण्डारीकै निकट मानिएका नेताहरू भने उनको भ्रमणलाई ‘धार्मिक तथा पर्यटकीय’ भन्दै आएका छन् । यसबिचमा पूर्वराष्ट्रपति भण्डारी केही कार्यक्रममा सहभागीसमेत हुने उनीहरूको भनाइ छ ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य लीला गिरी पूर्वराष्ट्रपति भण्डारीको भ्रमण केही धार्मिक तथा पर्यटकीय क्षेत्रमा केन्द्रित रहने बताउँछन् । यसबिचमा एमालेका केही नेता–तथा कार्यकर्तासँग भेटघाट हुनु स्वाभाविक रहने उनको भनाइ छ ।

बिहीबार गौतम बुद्ध विमानस्थलदेखि नै पूर्वराष्ट्रपतिसँगै रहेका गिरीले राष्ट्रपति हुनुभन्दा अघि भण्डारी एमालेको सक्रिय राजनीतिमा रहेको र उपाध्यक्षसमेत भएका कारण एमाले नेता–कार्यकर्तासँग निकटता रहनु सामान्य विषय भएको प्रस्ट पारे ।

पूर्वराष्ट्रपति भण्डारी भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बस्ने छिन् । लुम्बिनी प्रदेशमा बसाइका क्रममा उनले विभिन्न तहका नेता–कार्यकर्तासँग भेटघाट गर्ने जनाइएको छ ।

भण्डारीले शुक्रबार लुम्बिनीमा आयोजना हुने एक कार्यक्रममा आधा घण्टा बिताउने छिन् । दिउँसो २ बजेदेखि साढे तीन बजेसम्म उनी भेटघाटमा व्यस्त हुनेछिन् । दिउँसो साढे तीन बजे उनी त्रिवेणी धामको यात्रामा निस्किने कार्यतालिका छ । त्यहाँबाट फर्किएपछि बेलुका ८ देखि १० बजेसम्म फेरि भेटघाटमा व्यस्त हुने जनाइएको छ ।

यस्तै, १६ गते शनिबार बिहान ११ बजेदेखि बेलुका साढे ६ बजेसम्म भैरहवामा हुने महिला नेतृहरूबिचको अन्तरसंवाद कार्यक्रममा उनी सहभागी हुने छिन् । उक्त कार्यक्रममा  लुम्बिनी प्रदेशका महिला जनप्रतिनिधिहरू सहभागी रहने पूर्वमुख्यमन्त्री लीला गिरीले खुलाए । १७ गते आइतबार पूर्वराष्ट्रपति भण्डारी काठमाडौँ फर्किने कार्यक्रम छ ।

भण्डारीलाई भैरहवा विमानस्थलदेखि होटलसम्म ल्याउन एमाले नेता–कार्यकर्ताको ताँती लागेको थियो । उनलाई भेट्न एमाले पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी, केन्द्रीय सदस्य खिमलाल भट्टराई, लुम्बिनी प्रदेशका एमाले अध्यक्ष राधाकृष्ण कँडेल, प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरे नेताहरू दधिराम खरेल, जिल्ला अध्यक्ष यज्ञ गैरे आएका थिए ।

यस्तै, बुटवल उपमहानगर उपप्रमुख सावित्रीदेवी अर्याल, सिद्धार्थनगर उपप्रमुख उमा अधिकारी, एमाले जिल्ला उपाध्यक्ष हितराज पन्थी, अनेरास्ववियु, युवा संघ, पार्टीका गाउँ–नगर कमिटी अध्यक्ष तथा पदाधिकारी, अनेमसंघका नेतृहरूले बिहीबार नै भेट गरेका छन् ।

केही एमाले जनप्रतिनिधिले पूर्वराष्ट्रपति भण्डारीसँग भेटेको तस्बिर नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । रुपन्देही क्षेत्र नम्बर ५ का सांसद वासुदेव घिमिरे, बुटवल उपमहानगरपालिका उपमेयर सावित्रीदेवी अर्यालले पनि फेसबुकमा भण्डारीसँग भेट भएको तस्बिर राखेका छन् ।पूर्वमुख्यमन्त्री गिरीले रुपन्देहीको सिङ्गै पार्टी कमिटी भण्डारीसँग रहेको रातोपाटीलाई बताए । पूर्वराष्ट्रपति भण्डारीले भैरहवामा पत्रकारसँग कुरा गरिनन् । भैरहवाको सिद्धार्थ भिलासामा पत्रकारले प्रतिक्रिया लिन खोज्दा पनि उनले तत्काल केही नबोल्ने बताइन् ।

एमालेका केही नेता भने पूर्वराष्ट्रपति भण्डारी एमालेको आगामी महाधिवेशनमार्फत सक्रिय राजनीतिमा फर्कने बताउँछन् । यसैको तयारीस्वरुप उनी प्रदेशहरूको भ्रमणमा निस्किएर आफ्नो पक्षमा माहोल बनाउन थालेको उनीहरूको तर्क छ ।

  • १३ चैत्र २०८१, बिहीबार प्रकाशित

  • Nabintech