बाँके\बाँके प्रहरीले मोटरसाइकल र ई–रिक्सा चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मोटरसाइकल चोरेको आरोपमा नेपालगन्जका २० वर्षीय अमिर ढापाली, सुर्खेतका २१ वर्षीय पवन पाण्डे, र ई–रिक्सा चोरेको आरोपमा जानकी गाउँपालिकाका २१ वर्षीय ओमप्रकाश जरवटलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता एवं डीएसपी दिपक पातलीका अनुसार तीनै जनालाई प्रहरीले छुट्टाछुट्टै घटनामा फरक–फरक ठाउँबाट पक्राउ गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ का ढापालीले नेपालगन्जको गणेशमानचोक नजिकबाट भे १२ प ३०६९ नम्बरको मोटरसाइकल चोरेका थिए । उक्त मोटरसाइकल नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६, मन्नापुरुवामा फेला परेको थियो ।
यस्तै, सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का पवन पाण्डेले नेपालगन्जको बसपार्क नजिकबाट प्र ०२००१ प ६९०० नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल चोरेका थिए ।उक्त मोटरसाइकल कोहलपुरको किरणनाला नजिक बेवारिसे अवस्थामा फेला परेको थियो । जानकी गाउँपालिका वडा नं. ९ बस्ने जरवटले नेपालगन्जको ढोडेगाउँबाट भे १ ह ३०७० नम्बरको ई–रिक्सा चोरेका थिए ।