बाँके\ केही दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको मागप्रति प्याब्सन र नेशनल प्याब्सन(एन प्याब्सन)ले ऐक्यवद्धता जनाएका छन् । मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी आन्दोलनरत शिक्षकहरुको मागमा ऐक्यवद्धता जनाएका हुन् ।
नयाँ शैक्षिक सत्र प्रारम्भ भइरहेको वर्तमान अवस्थामा शिक्षण(सिकाई प्रक्रियामा अवरोध आउनेतर्फ सजग हुनुपर्ने वर्तमान परिप्रेक्ष्यमा सरकार र सबै सरोकारवाला पक्ष जिम्मेवार भई प्रस्तुत हुनुपर्नेमा जोड दिइएको छ ।
‘विद्यालय शिक्षा विधेयक संसदमा छलफलमा रहेको सन्दर्भमा, नेपाल सरकार र सम्बन्धित सरोकारवालाबिच आवश्यक छलफल तथा सहकार्य गरी विधेयकलाई यथाशीघ्र पारित गरी शिक्षा ऐन जारी गर्न हामी जोडदार माग गर्दछौँ,नेशनल प्याब्सन केन्द्रीय कार्यसमिति अध्यक्ष सुवाश न्यौपाने र प्याब्सन केन्द्रीय कार्यसमितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीद्धारा हस्ताक्षरित प्रैस विज्ञप्तिमा भनिएको छ,‘आन्दोलनरत शिक्षक महासङ्घका मागहरूलाई सम्बोधन गर्न नेपाल सरकार र सरोकारवाला पक्षहरूबिच खुला वार्ता र संवादको वातावरण निर्माण गरी समस्याहरूको समाधान खोजिनुपर्छ । यस प्रक्रियामा सबै पक्षहरूको सहभागिता र सहमति आवश्यक छ ।’
विगतमा सरकार र शिक्षक महासङ्घबिच भएका सहमतिहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यस्तै निजी विद्यालयहरूसँग सम्बद्ध संस्थाहरू प्याब्सन र नेशनल प्याब्सन, शिक्षक महासङ्घको आन्दोलनका जायज मागहरूमा ऐक्यबद्धता प्रकट गर्दै विद्यालय बन्द बाहेकका सबै आन्दोलनका कार्यक्रमहरूमा साथ, सहयोग, र समर्थन रहेको जनाएको छ ।
सबै पक्षलाई शिक्षा क्षेत्रको सुधार र विकासका लागि एकजुट भई सहकार्य गर्न आह्वान समेत गरिएको छ । वार्ता, संवाद, र आपसी समझदारीको माध्यमबाट मात्र दीर्घकालीन समाधान प्राप्त गर्न सकिने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।