बाँके\जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक बिदाहरूमा पनि आफ्नो कार्यालयले प्रवाह गर्ने केही महत्त्वपूर्ण सेवाहरू सूचारु राख्ने जानकारी गराएको छ ।१६ वटा सार्वजनिक बिदाका दिन पनि जिल्ला प्रशासन कार्यालय बाँकेले नागरिकतासम्बन्धी सेवा, राहदानी, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरणसम्बन्धी सम्पूर्ण सेवाहरू प्रवाह गर्ने जानकारी एक सार्वजनिक सूचना मार्फत गराएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको हस्ताक्षरमा सार्वजनिक गरिएको सूचनामा २०८२ वैशाख १ देखि चैत मसान्तसम्मको १६ वटा शनिबार बाहेकका सार्वजनिक बिदाहरूमा पनि उपरोक्त महत्त्वपूर्ण सेवाहरू सूचारु रहने जनाइएको छ ।
सूचनामा दिइएको जानकारी अनुसार वैशाख २९ गते उभौली पर्व तथा बुद्ध जयन्ती, जेठ १५ गते गणतन्त्र दिवस, असोज ६ गते घटस्थापना, मङ्सिर १८ गते धान्य पूर्णिमा, पुस १० गते क्रिसमस डे, पुस १५ गते उधौली पर्व तथा तमु ल्होसार, पुस २७ गते तमु ल्होसार र पृथ्वी जयन्ती, माघ १ गते माघी पर्व र माघ ५ गते सोनाम ल्होसारका दिनमा सार्वजनिक बिदा भए पनि जिल्ला प्रशासन कार्यालय बाँकेबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरणसम्बन्धी सेवाहरू प्रवाह गरिने छ ।
सोही प्रकारले माघ १६ गते सहीद दिवस, फागुन ३ गते महाशिवरात्री, फागुन ६ गते ग्याल्पो ल्होसार, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस तथा तोकिएको दिनमा पर्ने ईद र बकराईदको दिनमा सार्वजनिक बिदा भए पनि जिल्ला प्रशासन बाँकेबाट उपरोक्त सेवाहरू प्रदान गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी गराए ।