१९ बैशाख २०८२, शुक्रबार

अधिकारका लागि अझ धेरै लड्नु छःभार
  • न्युज मानसराेवर

कोहलपुर\नेकपा नेकपा एमाले का केन्द्रीय अनुशासन आयोग सदस्य एवम् संविधानसभा सदस्य देवराज भारले मजदुर र श्रमिकले अझ धेरै हक अधिकारका लागि लड्न बाँकी रहेको बताएका छन।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) बाँके र पेसागत महासङ्घ बाँकेले बिहीबार बिहान बाँकेको कोहलपुरमा संयुक्तरूपमा आयोजना गरेको १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संविधानसभा सदस्य भारले भने, “आजको दिन मजदुर श्रमिक वर्गका लागि पर्वको दिन हो, तत्कालीन मजदुर नेतृत्वले शासक वर्गसँग लडाइँ गरेर बलिदानीपूर्वक ल्याएको दिन हो, मजदुर र श्रमिकका हक अधिकारका क्षेत्रमा केही कुराहरू प्राप्ति भए पनि अझ धेरै हक अधिकार प्राप्ति गर्नुपर्ने छ । सबै मजदुर र श्रमिक वर्गले लडाइँ लड्न बाँकी छ ।”

नेपालमा २००७ सालको क्रान्ति पनि मजदुर आन्दोलनको नेतृत्वमा भएको भन्दै त्यसपछि मजदुर आन्दोलनले बिस्तारै रूप लिँदैआएको र मजदुरहरु सङ्गठित हुन थालेकोबताए  । संविधानसभा सदस्य भारले तत्कालीन अवस्थामा स्व. मनमोहन अधिकारीलगायतका नेताहरूले मजदुर आन्दोलनको नेतृत्व गर्दै आम शोषित पीडित मजदुर र श्रमिकका पक्षमा आवाज बुलन्द गर्दै सङ्घर्ष गरेका कारण नेपालमा आज मजदुर र श्रमिकका पक्षमा केही भए पनि प्राप्ति भएको उल्लेख समेत गरे ।कार्यक्रममा पेसागत महासङ्घका केन्द्रीय सदस्य मानबहादुर थापा, जिफन्ट कोहलपुर नगर इन्चार्ज मङ्गला जैसी लगायतले   आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको पेसागत महासङ्घ बाँकेका अध्यक्ष दुर्गा डाँगीले जानकारी गराए। उनले कौशिल्या अस्पताल प्रालि कोहलपुरले निःशुल्क आँखा शिविर र कोहलपुर डेन्टल हस्पिटल कोहलपुरले निःशुल्क दाँत शिविरको आयोजना गरेर सयौँ मजदुर र श्रमिकको निःशुल्क रूपमा स्वास्थ्य परीक्षण सेवा प्रदान गरेका थिए ।

 

  • १९ बैशाख २०८२, शुक्रबार प्रकाशित

  • Nabintech