२३ बैशाख २०८२, मंगलवार

नौवस्ता औद्योगिक क्षेत्रमा लालपुर्जा वितरण गर्ने निर्णय आयोग अध्यक्षः खनाल
  • न्युज मानसराेवर

बाँके\भूमि समस्या समाधान आयोगले बाँकेमा थप ९३६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्ने निर्णय गरेको छ ।आयोगको कार्यालय, नेपालगञ्जमा आज बसेको सर्वपक्षीय बैठकले दोस्रो चरणमा विभिन्न स्थानीय तहमा जग्गाधनी प्रमाणपत्र वितरण गर्ने निर्णय गरेको हो ।

आयोगका अध्यक्ष घननाथ खनालले जेठको पहिलो सातासम्म कोहलपुर नगरपालिका वडा नं २, १४, १५, नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ र २०, राप्तीसोनारी गाउँपालिका वडा नं ७ र वैजनाथ ६ मा जग्गाधनी प्रमाणपत्र वितरण गरिने न्यूज मानसरोबरलाई  जानकारी दिए ।

उनले पहिलो चरणमा कोहलपुर नगरपालिकाका तीन वडामा ११८ जनालाई लालपुर्जा वितरण कार्य सम्पन्न भएको र थपलाई वितरणका लागि प्रक्रिया अघि बढाइएको बताए । “आज बसेको राजनीतिक दलसहितको सर्बपक्षीय बैठकले नौवस्ता औद्योगिक क्षेत्रमा रहेको आवास क्षेत्रका  लागि लालपुर्जा वितरणका लागि पहल गर्ने निर्णय भएको छ ।

स्थानीय तहमा आयोगलाई चाहिने स्रोतसाधनको व्यवस्थापन पालिकाले गर्ने निर्णय भएको छ”, अध्यक्ष खनालले भने ।  यही २० गते  कोहलपुर नगरपालिका वडा नं १ बाट भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको थियो । हालसम्म जिल्लामा ५४ हजार हाराहारीमा लालपुर्जाका लागि आवेदन परेको छ । आगामी असारभित्र छ हजार लालपुर्जा वितरण गर्ने लक्ष्य रहेका अध्यक्ष खनालले बताए ।

  • २३ बैशाख २०८२, मंगलवार प्रकाशित

  • Nabintech