बाँके /द्वन्द्वपीडित तथा एकल महिला संजाल बाँकेका संस्थापक अध्यक्ष शोभा बि.सी.ले एकल महिलाहरू आत्मनिर्भरसँगै उदाहरण बन्नु पर्ने बताइन् ।
सीप सिकौं र आत्मनिर्भर बनौं भन्ने उद्देश्यका साथ सोमबार नेपालगन्जमा द्वन्द्व प्रभावित, बेपत्ता तथा एकल महिलाहरूका लागि ७ दिने अचार बनाउने तालिमको समापन कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
उनले अझै पनि द्वन्द्वको चोट बिर्सन नसकेको बताउँदै यस्ताखालका तालिमले कमसेकम हामी द्वन्द्व प्रभावित, द्वन्द्व पीडित सबैलाई घाउमा मल्हमको काम गर्ने बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपालगन्ज उप-महानगरपालिका वडा नं.-९ का वडाध्यक्ष गोविन्द प्रसाद रेग्मीले आफ्नै वडामा निर्माण भएको संजालको भवनमा यस्ता खालका कार्यक्रम निरन्तर हुनु पर्ने बताए ।
उनले संस्थाको उद्देश्य अनुसारको छ्हारी घर निर्माणमा पनि वडा कार्यालयले सक्दो सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा आत्मनिर्भर सम्बन्धिका विभिन्नखाले मागमा आधारित तालिमहरू वडाले संचालन गर्ने पनि बताए ।
तालिमका प्रशिक्षक अनु पाण्डेले सहभागी दिदीबहिनीहरूको बिगतको कुरा सुन्दै उनीहरूलाई सान्त्वना दिँदै तालिम संचालन गरेको बताइन् । सहभागी महिला दिदीबहिनीहरूको उत्सुकताले आफुहरूलाई पनि हौसला थपिएको बताइन् ।
संस्थाका कार्यवाहक अध्यक्ष बिन्दा खरेलले द्वन्द्व प्रभावित, एकल महिलाहरूका लागि ७ दिने अचार बनाउने तालिम सफलरूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरिन् । उनले तालिममा सहभागी ३० जनाले ६ प्रकारका अचार बनाउन सिकेको बताइन् ।
द्वन्द्वपीडित तथा एकल महिला संजालका सचिव विजया रोकाया र सदस्य जया आचार्यले अघिल्लो वर्षझैं यो वर्ष पनि अचार बनाउने तालिम संचालन गर्न पाएकोमा आर्थिक सहयोग गर्ने नेपालगन्ज उप-महानगरपालिका र सहभागी दिदीबहिनीहरूलाई धन्यवाद व्यक्त गरिन् ।