८ जेष्ठ २०८२, बुधबार

बजेट खर्चको कमजोर अवस्थामा
  • न्युज मानसराेवर

आगामी आर्थिक वर्षका निम्ति बजेट ल्याउने समय नजिकिँदै गएको समयमा चालू आर्थिक वर्षको बजेट खर्च तथा राजस्व संकलनको अवस्थालाई हेर्दा चालू आर्थिक वर्षमा बजेटको समग्र पक्ष न्यून रहेको देखिएको छ ।

चालू आर्थिक वर्ष २०८१-८२ को १० महिनासम्म पनि राजस्व संकलनको अवस्था लक्ष्यभन्दा धेरै कम रहेको छ । वैशाख मसान्तसम्म सरकारको राजस्व संकलन लक्ष्यको ६५ प्रतिशत पूरा गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षमा १४ खर्ब ७१ अर्ब ६२ करोड रुपियाँ संकलन गर्ने लक्ष्य रहेकोमा ९ खर्ब २२ अर्ब रुपियाँ मात्रै संकलन भएको छ । यसले राजस्व संकलनको लक्ष्यमा ठूलो अन्तर रहेको देखिन्छ ।

त्यस्तै पुँजीगत खर्चमा पनि अत्यन्तै कमजोर कार्यान्वयन देखिन्छ । ३ खर्ब ५२ अर्ब रुपियाँको लक्षित पुँजीगत खर्चमध्ये केवल १ खर्ब २० अर्ब मात्र खर्च भएको छ, जुन जम्मा ३४ दशमलव १६ प्रतिशत हो । जबकि, चालू खर्च ६७ दशमलव ७९ प्रतिशत र वित्तीय व्यवस्थापन खर्च ७१ दशमलव ९६ प्रतिशत रहेको छ । उल्लिखित खर्च संरचनाले देशको आर्थिक वृद्धि र पूर्वाधार विकासका लागि दीर्घकालीन प्रभावकारी बन्न सक्दैन ।

राजस्व संकलनमा गिरावट आउनुको मुख्य कारण आयात करमा आएको कमी हो । तथ्यांकअनुसार, आर्थिक वर्ष २०८०-८१ मा कुल आयात १५ प्रतिशतले घटेको छ, जसका कारण भन्सार र भ्याट संकलनमा कमी आएको हो । यसका साथै, सीमावर्ती क्षेत्रमा बढ्दो अवैध व्यापार र तस्करीका कारण पनि समग्र कर संकलनमा ह्रास आएको हो । त्यस्तै कृषि, पर्यटन र उद्योग क्षेत्रले अपेक्षाकृत योगदान दिन नसक्दा आयकर संकलनमा पनि कमी देखिएको छ ।

निजी क्षेत्रका व्यवसायहरूमा मन्दीका कारण कर राजस्वमा संकुचन आएको हो । राजस्व संकलनको कमजोर अवस्थालाई सुधार गर्नका लागि आगामी दिनमा गैरकर राजस्वका स्रोतलाई पनि प्रभावकारी बनाउँदै सेवा शुल्क, सार्वजनिक सम्पत्ति भाडा, निकासी–राशि जस्ता क्षेत्रहरूको नियमित अनुगमन र संकलन प्रणालीलाई पारदर्शी बनाउन आवश्यक छ । वैदेशिक सहायता र अनुदानलाई पूर्वाधार विकासमा केन्द्रित गर्दा दीर्घकालीन विकास लक्ष्यमा योगदान पु¥याउन सकिने सम्भावना हुन्छ ।
पुँजीगत खर्चमा सुस्तता आउनुको मुख्य कारण योजनाको प्राथमिकता निर्धारणमा देखिएको ढिलाइ हो ।

ठूला र दीर्घकालीन परियोजनामा प्राथमिकता दिँदै मन्त्रालयहरूबीच समन्वय बढाउनु आवश्यक छ । परियोजनाको पूर्वतयारीदेखि नै ठेक्का प्रक्रिया, बजेट विनियोजन र स्रोत सुनिश्चित गर्नुपर्छ । योजनाहरू कार्यान्वयनमा सरकारी अनुगमन संयन्त्रलाई थप सशक्त बनाउनुपर्छ । सरकारी कर्मचारीलाई बजेट कार्यान्वयन, लेखा प्रणाली र परियोजना व्यवस्थापनमा तालिम दिने, ठेक्का प्रक्रिया समयमै सम्पन्न गर्ने र अनुगमन टोलीको खटाइजस्ता कार्यहरूले बजेट खर्चको प्रभावकारिता बढाउन सक्छ ।

बजेट सन्तुलन कायम गर्न राजस्व संकलनमा व्यापक सुधार गर्दै खर्च कटौतीलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । संघ, प्रदेश र स्थानीय तहबीचको बजेट समन्वयलाई थप प्रभावकारी बनाउँदै ऋण, अनुदान र अन्य स्रोतको उपयोगमा स्पष्ट नीति ल्याउनु आवश्यक छ । चालू आर्थिक वर्षको बजेट खर्चको समग्र विश्लेषण गर्दा राजस्व संकलनमा ठूलो कमी, पुँजीगत खर्चमा कमजोर कार्यान्वयन र खर्च संरचनामा असन्तुलन देखिएको छ । यसले आर्थिक सन्तुलन र दिगो विकासमा नकारात्मक प्रभाव पार्न सक्ने सम्भावना रहेकोले आगामी नीतिहरूलाई यथार्थपरक बनाउँदै बजेट कार्यान्वयन क्षमतालाई सुदृढ पार्नु अत्यावश्यक देखिन्छ ।

  • ८ जेष्ठ २०८२, बुधबार प्रकाशित

  • Nabintech