८ जेष्ठ २०८२, बुधबार

लुम्बिनीका १४ सरकारी अस्पताल विकास समितिमा एमाले-कांग्रेसले गरे भागबन्डा
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशका १४ सरकारी अस्पताल विकास समिति अध्यक्षमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले आधाआधा भागवण्डा गरेर नियुक्ति गरेका छन् । सत्ता सहकार्यमा साथ दिएका केही साना दलले केही स्थानमा नेतृत्व अपेक्षा गरेपनि दुई पार्टी निकटस्थहरुलाई मात्रै नियुक्त गरिएको हो ।

तर, प्रदेश स्वास्थ्य मन्त्रालयले यसलाई सार्वजनिक गरेको छैन । मन्त्रालयले विकास समितिका सदस्यहरुसहित एकैपटक सार्वजनिक गर्ने तयारी गरेको दावी गरेको भएपनि पार्टीभित्रैबाट बढी विवाद हुने र साना दलबाट पनि असन्तुष्टि देखिने भएकाले सदस्यहरुसहित एकैपटक सार्वजनिक गर्न खोजिएको हो । यसअघि मन्त्रीपरिषद बैठकबाट यस्ता नियुक्ति टुंगाउने गरिएपनि अहिले भने मन्त्रीस्तरीय निर्णयबाट टुंगो लगाइएको हो ।रुपन्देहीको बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल र दाङको तुलसीपुरमा राप्ती प्रादेशिक अस्पताल छन् । तीसहित अन्य १२ जिल्लामा जिल्ला अस्पताल छन् ।

प्रदेश सरकारले बैशाख १६ प्रदेशभरका १४ वटौ अस्पताल विकास समिति एकैपटक विघटन गरेको थियो। यसअघिको सरकारले २०८० कार्तिक ७ गते अस्पताल सञ्चालनका लागि व्यवस्थापनमा सहयोग गर्ने गरी दुई प्रादेशिकसहित १४ जिल्ला अस्पतालहरुमा अध्यक्ष नियुक्त गरेको थियो ।

गठबन्धन फेरिएसँगै बैशाख १६ सो दिन बसेको मन्त्रिपरिषद् बैठकले त्यसअघि नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को अघिल्लो सत्ता साझेदारीका बेला गठन भएका समिति एकैपटक हटाएर नयाँ नियुक्तिको बाटो खोलेको थियो। स्वास्थ्यमन्त्री खेम सारुले विकास समितिका अधयक्षहरु नियुक्त गरेको पुष्टि गरेपनि सबैको विवरण तयार नभएको बताए ।

‘सोमबारसम्म उपलब्ध गराउन सकिएला, सदस्यहरुको पनि एकैपटक टुंगो लगाएर सार्वजनिक गर्ने हो, सोमबारसम्म तपाईहरुले पाउनुहुनेछ’ उनले भने । शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाका अनुसार सत्तारुढ दुई दलको सहमतिअनुसार एमालेले ७ र कांग्रेसले ७ वटा अध्यक्ष पाएको र सोहीअनुसार मन्त्रीस्तरीय निर्णयबाट नियुक्ति भएको नेपाल प्रेसलाई बताए ।

दाङको राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नेपाली कांग्रेसबाट महेन्द्रराज लामिछाने र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा एमालेबाट अजयमान श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठ यसअघि पनि अध्यक्ष रहेका थिए ।

त्यसैगरी प्युठान अस्पतालको अध्यक्षमा कांग्रेसबाट कृष्णप्रसाद बसेल, रोल्पा अस्पतालमा कांग्रेसबाट शेरबहादुर थापा, गुल्मी अस्पतालमा एमालेबाट राजेन्द्रप्रसाद पाण्डे, रामपुर अस्पताल पाल्पामा एमालेबाट युवराज खनाल, अर्घाखाँची अस्पतालमा एमालेबाट बलाराम मिश्र अध्यक्षमा नियुक्त भएका हुन् ।

त्यस्तै कपिलवस्तु अस्पतालमा एमालेबाट रन्जिकुमार बर्मा, भीम अस्पताल भैरहवामा कांग्रेसबाट कुलप्रसाद न्यौपाने, पाल्पा अस्पतालमा कांग्रेसबाट अजयमान कर्माचार्य, रुकुम पूर्व अस्पतालमा कांग्रेसबाट लोकेन्द्र शाह, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा एमालेबाट जगदीश चौधरी र भालुवाङ अस्पताल दाङमा एमालेबाट सूर्यप्रकाश शर्मालाई नियुक्त गरिएको हो। यो बाहेक रुपन्देही र दाङमा रहेका दुई आयुवेर्दिक अस्पतालमा केही निर्णय भएको छैन ।

एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र कांग्रेसबाट शहरी विकास मन्त्री रोज राणाको समन्वयमा स्वास्थ्यमन्त्री सारुले उनीहरुलाई नियुक्ति दिएका हुन् । स्वास्थ्य संरचनामा स्थायित्व र जवाफदेहिता सुनिश्चित नगरी गरिने यस्ता राजनीतिक हस्तक्षेपले सेवा प्रवाहमा अस्थिरता ल्याउने स्वास्थ्यविद्हरूको चिन्ता छ तर सरकार फेरिएसँगै सधैजसो यसरी नै नेतृत्व फेरिँदै आएको छ ।

  • ८ जेष्ठ २०८२, बुधबार प्रकाशित

  • Nabintech