१० जेष्ठ २०८२, शुक्रबार

मालपोत कार्यालय कोहलपुरका खरिदार पाण्डेसहित ३ जना पक्राउ
  • न्युज मानसराेवर

बाँके\मालपोत कार्यालय कोहलपुर, बाँकेको मुद्दा फाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसहित ३ जना पक्राउ परेका छन् ।जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनीहरूलाई आज शुक्रबार साँझ पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उक्त कार्यमा सहजीकरण गरिदिने भन्दै लेखापढी व्यवसायी (विचौलिया)मार्फत सेवाग्राहीसँग घुस मागेको उजुरी आयोगमा परेको थियो । उक्त उजुरीका आधारमा खटिएको आयोगको टोलीले खरिदार पाण्डेलाई विचौलियामार्फत सेवाग्राहीसँग लिएको २० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

साथै उक्त रकम लिएर तिवारी रेष्टुरेण्टका सञ्चालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा लेखापढी व्यवसायी (विचौलिया) शान्ति पुन र घनश्याम तिवारी पनि आयोगले नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

  • १० जेष्ठ २०८२, शुक्रबार प्रकाशित

  • Nabintech