११ जेष्ठ २०८२, शनिबार

समता स्कुल इटहरीमा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

१८९ नयाँ विद्यार्थीको औपचारिक स्वागत, विद्यार्थी परिषदको शपथ र सांस्कृतिक प्रस्तुतीले सजियो कार्यक्रम

  • न्युज मानसराेवर

इटहरी। समता स्कुल इटहरीले एक भव्य समारोहको आयोजना गर्दै शैक्षिक सत्र २०८२ मा नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत तथा एसईई २०८१ मा सामेल ४७ जना विद्यार्थीहरूलाई मायाको चिनो सहित बिदाइ गरेको छ।

इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा विद्यालयले यस वर्षको प्रवेश परीक्षामा सहभागी २५४ जना मध्ये आधिकारिक रुपमा भर्ना भै पठानपाठन गर्दै आएका १८९ जना नयाँ विद्यार्थीहरू, तिनका अभिभावकहरू तथा नव नियुक्त शिक्षकहरूलाई आधिकारिक रूपमा स्वागत गर्‍यो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठले समता स्कुलले सबै कक्षामा समान तथा न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिँदै आएको, साथै पठनपाठनसँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूमा पनि विद्यार्थीलाई अग्रसर गराउँदै आएको उल्लेख गरे। उनले यसै कारण प्रत्येक वर्ष विद्यार्थी भर्नाको संख्या वृद्धि हुँदै आएको बताए।

समारोहमा नवप्रवेशी अभिभावकहरुले पछिल्ला वर्षहरूमा समता स्कुलले गरेको उत्कृष्ट काम, कम शुल्कमा अनुशासित वातावरणमा दिइने गुणस्तरीय शिक्षा र संस्कारका कारण आफूले आफ्ना बालबालिका यहाँ भर्ना गरेको बताउँदै विद्यालयको आगामी प्रगतिका लागि शुभकामना व्यक्त गरे। साथै एक अभिभावकले अहिलेको आर्थिक मन्दिको समयमा समता स्कुलले सम्पूर्ण कक्षामा समान तथा न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेर ठुलै राहत दिएको अनुभव सुनाए।

बिदाइ कार्यक्रममा बोल्दै नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गरेकी छात्रा सिवानी लम्सालले समता स्कुलबाट बिदाइ हुँदा ठूलो पीडाको अनुभूति भएको बताइन्। “समता स्कुल हाम्रो लागि स्कुल मात्र होइन, घर र मन्दिरजस्तै हो,” भन्दै उनले यहाँ प्राप्त शिक्षा, अनुशासन र जीवनका मूल्यहरूले आफूलाई प्रेरित गरेको उल्लेख गरिन्। उनले समता स्कुलले विद्यार्थीका लागि जुन योगदान दिएको छ, त्यो बिरलै अन्य विद्यालयले दिन सक्ने पनि बताइन्। “समता सधैं हाम्रो मन, मुटु र मस्तिष्कमा रहनेछ,” भन्दै भविष्यमा पनि कुनै न कुनै माध्यमबाट समतासँग जोडिने प्रण गरिन्।

कार्यक्रमका प्रमुख अतिथि पूर्वी कन्सोर्टियमका शिक्षा विभाग प्रमुख देवेन्द्र पौडेल थिए भने विद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठको अध्यक्षता रहेको थियो। सो अवसरमा विद्यालयमा हालै सम्पन्न विद्यार्थी परिषद् निर्वाचनमा विजयी भएका विद्यार्थी प्रतिनिधिहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको थियो।

विद्यार्थीहरूले विविध सांगीतिक र सांस्कृतिक प्रस्तुति मार्फत उपस्थित अभिभावक, शिक्षक तथा दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए। समारोहमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समता शिक्षाको अभियान २५ वर्षअघि काठमाडौंबाट उत्तम संजेलद्वारा शुरु गरिएको हो। इटहरीमा यो अभियान १४ औं वर्षमा प्रवेश गरेको छ। हाल समता विद्यालयहरू देशका विभिन्न स्थानमा संचालनमा छन्।

  • १० जेष्ठ २०८२, शुक्रबार प्रकाशित

  • Nabintech