१० जेष्ठ २०८२, शुक्रबार

कविता सङ्ग्रह ‘अभ्युदय’ को नयाँ शैलीमा विमोचन
  • न्युज मानसराेवर

काठमाडौँ – कवि, गीतकार तथा नियात्राकार सुमन थापा ‘सङ्गम’को नवीनतम कविता सङ्ग्रह ‘अभ्युदय’ को विमोचन कार्यक्रम आज साँझ ग्रीनलिफ रेस्टुरेन्ट, पुतलीसडक, काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम नयाँ शैलीमा सम्पन्न गरिएको थियो, जहाँ कविका ८४ वर्षीय पिता विष्णुवीर थापा, तीन छोरीहरू समिक्षा केसी, प्रशंसा केसी, क्रिशला केसी र नातिनातिनाहरू आरुण्या केसी, आयाङ्श केसी, आव्यान्या केसी तथा कवि स्वयंकै हातबाट संयुक्त रूपमा कृतिको लोकार्पण गरिएको थियो।

पोडियममा कुनै तामझाम बिना उभिएर कवि स्वयम्‌ले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने उनकी जेठी छोरी समीक्षा केसीले उपस्थित साहित्यप्रेमी तथा अतिथिहरूलाई स्वागत गरिन्।

कार्यक्रममा कवि रमी प्रिया, विश्व सिग्देल, श्रीबाबु कार्की र प्रोल्लास सिन्धुलीयले ‘अभ्युदय’ सङ्ग्रहबाट चयन गरिएका कविता वाचन गरेका थिए। कवि सुमन थापाले दर्शकदीर्घाबाट सुभाषचन्द्र पौडेलद्वारा अनुरोध गरिएका आफ्ना दुई कविता “वालुवामा लेखिएको नाम”“बृहत कथामा आमा” वाचन गरेकी थिइन्, जसले कार्यक्रममा विशेष भावनात्मक र साहित्यिक गहिराइ थपेको थियो।

कृतिबारे समीक्षात्मक मन्तव्य दिँदै डा. शेखरकुमार श्रेष्ठले ‘अभ्युदय’ कविता सङ्ग्रहको पृष्ठभूमि, सिर्जनात्मक प्रक्रिया, कविको जीवन परिचय र विम्बात्मक विशेषता समेटिएको समीक्षा प्रस्तुत गरेका थिए।

विमोचन समारोहमा हालका चर्चित ४५ भन्दा बढी लेखक, कवि तथा साहित्यकर्मीहरूको उपस्थितिले कार्यक्रमलाई भव्य बनाएको थियो। कवि थापाको यसअघि ‘माइतीघरको फूल’ कविता सङ्ग्रह प्रकाशित भइसकेको छ।

‘अभ्युदय’ मार्फत कवि थापाले फेरि एकपटक नेपाली कविता क्षेत्रमा आफ्नो सशक्त उपस्थिति जनाएकी छन्।

  • १० जेष्ठ २०८२, शुक्रबार प्रकाशित

  • Nabintech