१२ जेष्ठ २०८२, आईतवार

समता स्कुल लहानले गर्‍यो नयाँ विद्यार्थीलाई स्वागत

'पछिल्ला बर्षहरु समतामा बढ्यो आकर्षण'

  • न्युज मानसराेवर

लहान, जेठ ११ — समता स्कुल लहानले शैक्षिक सत्र २०८२ मा भर्ना भएका नयाँ विद्यार्थी तथा अभिभावकहरुलाई एक भव्य समारोहका बीच स्वागत गरेको छ। कार्यक्रममा विद्यालयले यो वर्ष १०७ जना नयाँ विद्यार्थी भर्ना भएको जानकारी दिएको छ।

स्वागत कार्यक्रमसँगै हालै सम्पन्न विद्यार्थी परिषद् निर्वाचनमा निर्वाचित पदाधिकारीहरुको पद तथा गोपनीयताको सपथ पनि गराइएको थियो। सपथ समारोहको शैलीले सरकार गठनको बेला हुने मन्त्री सपथ कार्यक्रमलाई सम्झाएको सहभागीहरूले बताएका छन्।

समारोहमा समता स्कुल इटहरी र समता स्कुल इलामका प्रिन्सिपलहरू, शिक्षक, अभिभावक तथा विद्यार्थी गरी ३०० भन्दा बढीको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांगीतिक तथा सांस्कृतिक प्रस्तुती दिएका थिए।

विद्यालयका प्रिन्सिपल कमल सिङ्तानका अनुसार, समता स्कुल लहानले सम्पूर्ण कक्षामा समान तथा न्यून शुल्कमा अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ, जसका कारण विगत केहि वर्षदेखि निरन्तर भर्ना दरमा वृद्धि भएको छ।

कार्यक्रममा बोल्दै समता स्कुल इलामका प्रिन्सिपल देवेन्द्र पौडेलले समता स्कुल लहान समता पूर्वी कन्सोर्टियमको मेरुदण्डका रूपमा अघि बढिरहेको बताए। उनले लहान स्कुल अन्य समता स्कुलहरूका लागि प्रेरणादायी बनेको उल्लेख गर्दै, सामाजिक अभियन्ता उत्तम सञ्जेलको महान उद्देश्य साकार पार्न पाएको अवसरप्रति कृतज्ञता व्यक्त गरे।

यसै सत्रदेखि आफ्ना दुई छोराहरू समता स्कुल लहानमा भर्ना गराएका अभिभावक मोतीलाल यादवले, “समताले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिइरहेको छ। विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयको प्रयास प्रशंसनीय छ,” भन्दै विद्यालयको शैक्षिक वातावरण र अनुशासनले आफूलाई आकर्षित गरेको बताए।

करिब २५ वर्षअघि काठमाडौंको नयाँ बस्तीबाट समाजसेवी उत्तम सञ्जेलले सुरु गरेको समता अभियान अन्तर्गत लहानमा स्थापना गरिएको समता स्कुलले यो वर्ष सञ्चालनको १२ औं वर्ष पूरा गरेको छ।

  • १२ जेष्ठ २०८२, आईतवार प्रकाशित

  • Nabintech