बाँके\सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहरमा पहिलो शाखा निर्माणको काम सुरु गरिएको छ । राप्ती सोनारी गाउँपालिका ४ स्थित लटनिया गाउँबाट पहिलो शाखा नहर निर्माणको काम सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाले जनाएको हो ।
पूर्वी मूल नहरमा पानी चलेपनि आयोजना कार्यालयले आफ्नै शाखा नबनाएको जनाउँदै अहिले पहिलो नयाँ शाखा निर्माण गर्न सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यले जनाएका छन।
सिक्टा सिँचाइ आयोजनाका इन्जिनियिर विनेश श्रेष्ठका अनुसार गुरुयोजना अनुसार उक्त शाखा नहरको लम्बाई चार किलोमिटर रहनेछ । शाखा नहरको १.४ किमीबाट प्र–शाखा नहर निर्माण गरिने र शाखामा तीन वटा जति प्र–शाखा नहर रहनेछ । शाखा नहर निर्माणको जिम्मा पि.एस. निर्माण सेवाले पाएको छ । यसका लागि पाँच करोड ७९ लाख रुपियाँमा ठेक्का सम्झौता भइसकेको आयोजनाले जनाएको छ ।
शाखा नहरबाट ६७० हेक्टर क्षेत्रमा सिँचाइ गर्ने लक्ष्य लिइएको आयोजनाका इन्जिनियिर श्रेष्ठले बताउनुभयो । शाखा नहरबाट सतह सिँचाइ गर्न नसक्ने क्षेत्रमा पानी पुर्याउन लिफ्ट सिँचाइको वैकल्पिक व्यवस्था गर्न लागिएको आयोजना कार्यालयले जनाएको छ ।