इलाम — इलामको समता स्कुलले शैक्षिक सत्र २०८२ मा भर्ना भएका १४३ जना नवप्रवेशी विद्यार्थीलाई भव्य समारोह आयोजना गरि स्वागत गरेको छ। इलाम सदरमुकामको सुन्तलाबारीस्थित विद्यालय परिसरमा औपचारिक र इलाम जिल्ला समन्वय समितिको सभाहलमा अनौपचारिक गरि दुई चरणमा आयोजित कार्यक्रममा विद्यार्थी परिषदका नव निर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको सपथ ग्रहण समेत गराइएको थियो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिमल वैद्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल, समता स्कुल इटहरी र लहानका प्रिन्सिपल, अभिभावक, विद्यार्थी तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष वैद्यले समता स्कुल इलामले स्थापनाकालदेखि नै बी.एल.ई. र एस.ई.ई. परीक्षामा जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्दै आएको उल्लेख गरे। “अनुशासित संस्कारसहितको गुणस्तरीय शिक्षा त्यो पनि नर्सरीदेखि कक्षा १० सम्म समान र न्यून शुल्कमा प्रदान गरिएकाले विद्यालय अभिभावकहरूको पहिलो रोजाइ बन्दै आएको छ,” उनले भने विद्यालयको स्थापनाकाल सम्झिँदै उनले प्रारम्भिक दिनहरूको संघर्ष अहिलेको भर्ना चापले बिर्साइदिएको महसुस भएको सुनाए।
विद्यालयका प्रिन्सिपल देवेन्द्र पौडेलले नयाँ विद्यार्थी र अभिभावकहरूलाई स्वागत गर्दै “हामीमाथि अभिभावकहरूले देखाउनुभएको विश्वास र साथले हामीलाई अझ स्तरीय र जिम्मेवार शिक्षा प्रदान गर्न उत्प्रेरित बनाएको छ,” भन्दै धन्यवाद ज्ञापन गरे। कार्यक्रममा उपस्थित दर्शक श्रोताको मनोरञ्जनका निमित्त विद्यार्थीहरुले विविध साँगीतिक र साँस्कृतिक प्रस्तुति दिएका थिए।
सन् २०६८ सालदेखि सञ्चालनमा रहेको समता स्कुल इलामले सम्पूर्ण कक्षामा समान शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ। यस बर्ष नर्सरी देखि कक्षा ९ सम्म कुल १४३ जना नयाँ भर्ना भएको विद्यालयमा हरेक वर्ष विद्यार्थी संख्या बढ्दै जानु विद्यालयप्रतिको अभिभावकहरूको विश्वासको प्रतिविम्ब भएको विद्यालयले जनाएको छ।