बाँके\लामो समयदेखि चर्चामा रहेका तर निर्माण प्रक्रियामा अपेक्षित गति लिन नसकेका लुम्बिनी प्रदेशका तीन महत्वपूर्ण औद्योगिक क्षेत्रहरूको भविष्यप्रति उद्योगी–व्यवसायीहरूमा नयाँ आशा सञ्चार भएको छ ।
सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा यी औद्योगिक क्षेत्रहरूको निर्माणलाई प्राथमिकतामा राखी निजी क्षेत्रसँगको सहकार्यमा अघि बढाउने घोषणाले यो आशा जगाएको हो ।
बुटवलको मोतीपुर, बाँकेको नौबस्ता र दाङको लक्ष्मीपुरमा प्रस्तावित औद्योगिक क्षेत्रहरू प्रदेशको औद्योगिक विकासका लागि महत्त्वपूर्ण मानिएका छन् । वर्षौंदेखि विभिन्न कारणले अल्झिएका आयोजनाहरूले गति लिने विश्वास उद्योगीहरूमा पलाएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पनि विवादित भूभागलाई हाललाई थाँती राखी उपलब्ध र विवादरहित जग्गामा क्षेत्रफल समायोजन गर्दै निर्माण प्रक्रियालाई अघि बढाउने रणनीति लिएको छ ।
बाँकेको नौबस्ता औद्योगिक क्षेत्रका स्थानीयसँग जग्गा विवाद नै प्रमुख समस्या रह्यो । सुरुमा ३३८ बिघा जमिनमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको थियो । तर, पछि स्थानीय तहले ५५ बिघा क्षेत्रफलमा मानव बस्ती रहेको विस्तृत विवरण औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई बुझाएपछि, सुरुमा घोषणा गरिएको क्षेत्रफल घटाएर २५३ बिघामा निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
नौबस्ता औद्योगिक क्षेत्रका व्यवस्थापक प्रदीप पराजुलीका अनुसार हाल २५३ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माणका लागि ट्र्याक खोल्ने र तारजाली लगाउने काम भइरहेको छ । क्षेत्रफल घटेकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि पुनः संशोधन गर्नुपर्ने अवस्था छ ।
बजेट सुनिश्चित भएमा आगामी आर्थिक वर्षभित्र निजी क्षेत्रलाई उद्योग स्थापनाका लागि दिन सकिने गरी कामलाई तीव्रता दिइएको उनलेजानकारी गराएका छन ।