बाँके\वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि हातपात गरेको घटनालाई प्रेस चौतारी नेपालले अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएको ठहर गरेको छ । श्रमजीवी पत्रकारमाथि भएको यो आक्रमणको विरुद्ध सशक्त आवाज उठाउन चौतारीले आह्वान गरेको छ ।
‘काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय बाहिर २०८२ जेठ २२ गते फोटो पत्रकार उमेश कार्कीमाथि गरेको दुर्व्यवहारप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ संगठनका महासचिव हीरामान लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्रमजीवी पत्रकारमाथि भएको यो दुर्व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको हाम्रो ठहर छ, श्रमजीवी, सक्रिय पत्रकारमाथि आइपरेको संकटमा मूकदर्शक नभई सशक्त आवाज उठाउन नागरिक समाज, पेसागत संघसंगठनलाई प्रेस चौतारी नेपाल आह्वान गर्दछ ।’प्रेस चौतारी नेपालले आगामी दिनमा पत्रकारलाई निर्बाध समाचार सङ्कलनको वातावरण बनाउन आह्वान गरेको छ ।संगठनले पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।