बाँके\बाँकेको राप्तिसोनारी गाउँपालिका –७,प्रिपहवाकी फूलमती आर्या वर्षा सुरु भएपछि रातभरि असजिलो महसुस गर्नुहुन्थ्यो ।बाढीले घर बगाउने डरले उहाँको निन्द्रा हराउँथ्यो।दुई वर्षअघि गाउँपालिकाले स्थापना गरेको साइरन प्रणालीले अब उहाँ ढुक्कसाथ सुत्न पाउनुभएको छ ।
साइरन बजेपछि तत्काल सुरक्षित स्थानमा जानेगरेको उहाँले बताउनुभयो । प्रिपहवाकै अनारकला धोबीले पनि सम्भावित बाढीको चेतावनीका लागि तयारी अवस्थामा एउटा झोला राख्नुभएको छ, जसमा नागरिकता, शैक्षिक प्रमाणपत्र, र लालपूर्जाजस्ता महत्वपूर्ण कागजात छन् । साइरनको सूचना पाएपछि उहाँ त्यो झोला बोकेर अग्लो स्थानमा दौडिनुहुन्छ ।
स्थानीय अगुवा फारुक अलीका अनुसार साइरन प्रणालीले समयमै सूचना दिँदा जोखिम न्यून गर्न सजिलो भएको छ । ‘हामीले चेतावनी पाएपछि अग्लो ठाउँमा जान पाउँछौं, यसले राहत मिलेको छ’ उहाँले भन्नुभयो ।
वडा अध्यक्ष रामलखन चौधरीले साइरन प्रणाली जडान भएपछि डुवानको असर कम हुँदैगएको बताउनुभयो । उहाँका अनुसार पूर्वसूचना प्रणालीले वडाबासीलाई सम्भावित क्षतिबाट जोगिन प्रभावकारी भूमिका खेलेको छ ।