१६ असार २०८२, सोमबार

लुम्बिनी प्रदेशमा २४ प्रतिशत धान रोपाइँ
  • न्युज मानसराेवर

बाँके\असार १५ गतेसम्म लुम्बिनी प्रदेशमा २३.९६ प्रतिशत रोपाइँ सकिएको छ । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयका अनुसार असार १५ गतेसम्मको तथ्यांकअनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा रोपाइँ धमाधम भएको छ ।

अघिल्लो वर्षको तुलनामा मनसुनी वर्षा छिटो भएकाले पनि प्रदेशमा धान रोपाइँ अघिल्लो वर्षको तुलनामा बढी भएको हो । तर समयमै वर्षा भएको भए अहिलेसम्म ५० प्रतिशत बढी धान रोपाइँ भइसक्नुपर्ने निर्देशनालयका महानिर्देशक रामप्रसाद पाण्डेयले बताए । ‘पानी छिटो परेकाले पनि यस वर्ष केही प्रतिशतले धान रोपाइँ बढेको हो,’ उनले भने, ‘आकासे पानीको भल छोपेर रोप्ने गरिएको छ भने तराईमा बोरिङ गाड्ने (स्यालो, डिप ट्युबवेल) भएकाले पनि रोपाइँ गर्न छिटो भएको छ ।’

यो वर्ष गत वर्षको तुलनामा ५.४६ प्रतिशत बढी धान रोपाइँ भएको उनले बताए । गत वर्ष लुम्बिनी प्रदेशमा असार १४ गतेसम्म १८.०५ प्रतिशत धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ । धान रोपाइँ हुने कुल ३ लाख २ हजार ९३९ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म ७२ हजार ५९८ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

लुम्बिनी प्रदेशको मुख्य खाद्यबालीअन्तर्गत धान खेती पर्छ । प्रदेशमा सबैभन्दा धेरै प्यूठानमा ८२ प्रतिशत रोपाइँ सकिएको छ । प्यूठानमा ५ हजार ३१८ हेक्टर क्षेत्रफल अर्थात् धान रोपाइँ हुने क्षेत्रको ८२ प्रतिशत सम्पन्न भएको छ । त्यस्तै, तराईका जिल्लामध्ये सबैभन्दा धेरै पश्चिम नवलपरासीमा धान रोपाइँ २० हजार ४८० हेक्टर क्षेत्रमध्ये ८ हजार १९२ हेक्टर अर्थात् ४० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको निर्देशनालयले जनाएको छ । कपिलवस्तुमा ६५ हजार ८७१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । यस वर्ष कुल क्षेत्रफलको ७ प्रतिशत अर्थात् ४ हजार ६११ हेक्टरमा मात्र रोपाइँ भएको छ ।

रुकुम पूर्वमा धानखेती हुने ३ सय ५४ हेक्टर क्षेत्रफलमध्ये १ सय ८४८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ, जुन कुल धानखेती हुने क्षेत्रफलको ५२ प्रतिशत हो । रोल्पामा ४ हजार ५४७ हेक्टरमध्ये ७९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । अर्घाखाँचीमा ६ हजार ७६० हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । यहाँ २१ प्रतिशत धान रोपाइँ भएको छ अर्थात् १ हजार ४२० हेक्टर क्षेत्रफलमा मात्र भएको हो । पाल्पामा कुल ८ हजार २१० हेक्टरमध्ये ८ सय २१ हेक्टर क्षेत्रफल अर्थात् १० प्रतिशतमा रोपाइँ सकिएको छ । तर कृषि ज्ञान केन्द्र पाल्पाले भने असार १५ को बेलुकिसम्म १८ प्रतिशत रोपाइँ सकिएको जानकारी गराएको छ ।

रुपन्देहीमा ४० प्रतिशत रोपाइँ सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६० हजार ५६७ हेक्टर क्षेत्रफलमध्ये २४ हजार २३० हेक्टरमा रोपाइँ भएको हो । निर्देशनालयका अनुसार धान उत्पादन हुने मुख्य जिल्ला मध्येको दाङमा १७ प्रतिशत रोपाइँ भएको छ । दाङ जिल्लामा धान रोपाइँ हुने कुल ३७ हजार २२५ हेक्टर क्षेत्रफलमध्ये ६ हजार ३२८ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।

बर्दियामा २८ प्रतिशत रोपाइँ सकिएको छ । बर्दियामा ५० हजार १५० हेक्टर क्षेत्रफलमध्ये १३ हजार ७१४ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । बाँकेमा धान उत्पादन हुने ३४ हजार ७११ हेक्टर क्षेत्रफलमध्ये ३ हजार ८१८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुने गुल्मीमा ५ प्रतिशत रोपाइँ सकिएको छ । गुल्मीमा ७ हजार ५३९ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। अहिलेसम्म ३९१ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ । पाल्पा गायत लुम्बिनी प्रदेशका सबै स्थानीय तह, विभिन्न राजनीतिक दल, तिनका भ्रातृ संगठनले समेत धान दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

  • १६ असार २०८२, सोमबार प्रकाशित

  • Nabintech