बाँके\नेकपा एमालेका केन्द्रीय सदस्य रहेका बाँकेका पशुपतिदयाल मिश्र कर्णाली विकास बैंक घोटाला प्रकरणमा पक्राउ परेका छन् । उनी सो बैंकको पूर्वअध्यक्ष हुन् । मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपालगन्जबाट पक्राउ गरेको हो । उनी विसं २०६६ सालदेखि ०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष थिए ।
यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए । पक्राउ परेकाहरुमथि अनुसन्धान जारी रहेको सिआईबी प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिएका छन् ।
सीआईबीबाट डीएसपी दानबहादुर थापाको कमाण्डको एउटा टोली नेपालगन्जमै रहेर कर्णाली बिकास बैंक ठगी प्रकरणको अनुसन्धान गरिरहेको जनाइएको छ । मिश्रसँगै कर्णाली बिकास बैंकको ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ ।