२० असार २०८२, शुक्रबार

लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिकोत्सव
  • न्युज मानसराेवर

बाँके\ लुम्बिनी प्राविधिक विश्वविद्यालयले आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । बुधबार नेपालगन्जको एक होटलमा कार्यक्रम गरी विश्वविद्यालयले तेस्रो वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको उद्घाटन सामाजिक विकास मन्त्री एवं सहकुलपति जन्मजय तिमिल्सेनाले गरेका हुन् । उनले लुम्बिनी प्राविधिक विश्वविद्यालयले आफ्नो गति लिइसकेको बताउँदै अब व्यवस्थापनलाई बलियो बनाएर जानुपर्ने बताए ।

उपकुलपति प्रा.डा.विनोद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कुलसचिव रेगबहादुर भण्डारीले लुम्बिनी विश्वविद्यालयले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष व्यक्ति उत्पादन गरिरहेको सुनाए ।

कार्यक्रममा पूर्वमन्त्री रत्न खत्री, बादसाह कुर्मी र चन्द्रकेश गुप्ता, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकको सहभागिता थियो । कार्यक्रममा डीन निरज केसीले विश्वविद्यालयका बारेमा प्रकाश पारेका थिए ।

बाँकेको खजुरामा बनाउने निर्णय भएको लुम्बिनी प्राविधिक विश्वविद्यालय अहिले नेपालगन्जमा भाडाको घरमा सञ्चालन भइरहेको छ । भदौदेखि विश्वविद्यालयको प्रशासनिक काम खजुराबाट हुने बताइएको छ ।३३ जना विद्यार्थीबाट सुरु गरेको विश्वविद्यालयमा अहिले २ सय बढी विद्यार्थी अध्ययनरत छन् ।

  • २० असार २०८२, शुक्रबार प्रकाशित

  • Nabintech