२१ असार २०८२, शनिबार

गर्मी छल्न ‘कुलिङ सेन्टर’
  • न्युज मानसराेवर

बाँके\ नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी छल्न ‘कुलिङ सेन्टर’ सञ्चालनमा ल्याएको छ। उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी बाँकेको संयुक्त लगानीमा वडा नं ४ बसपार्क क्षेत्रभित्र सेन्टर सञ्चालनमा ल्याइएको हो।

नेपालगञ्जलाई नेपालकै सबैभन्दा बढी गर्मी हुने ठाउँका रूपमा चिन्ने गरिएको छ। गर्मी छल्न तातो हावाको लहर (लू) प्रतिकार्य योजनाअनुरुप यात्रुलाई लक्षित गरी बसपार्कभित्र कुलिङ सेन्टर निर्माण गरिएको उपमहानगरप्रमुख प्रशान्त विष्टले जानकारी दिए।

उनका अनुसार असाध्यै गर्मीसँगै (लू) चलेको समयमा यसले नागरिकलाई राहत दिनेछ। यसको उपयोगिताको आधारमा नगरका अन्य स्थानमा पनि आवश्यकताअनुसार कुलिङ सेन्टर बनाउने योजना रहेको उपमहानगरप्रमुख विष्टले बताए।

उपमहानगरपालिकाको २७ लाख लागतमा निर्माण गरिएको उक्त सेन्टरमा नेपाल रेडक्रस सोसाइटीले १२ लाख मूल्य बराबरका आवश्यक सामग्री सहयोग गरेको उपमहानगरको भौतिक पूर्वाधार शाखा प्रमुख भुपेन्द्र बोहराले जानकारी दिए।

वातावरणमैत्री संरचनायुक्त यस ठाउँमा कुलिङ सिस्टम, आपतकालीन स्वास्थ्य सेवा, पिउनेपानीलगायत सुविधा रहेका छन्। एक हजार २९१ स्क्वायर फिट क्षेत्रफलमा बनेको यस सेन्टरको छानामा युपीभीसी, सिलिङमा जिप्सन बोर्ड लगाइएको इन्जिनियर चन्दनराज दासले जानकारी दिए।

  • २१ असार २०८२, शनिबार प्रकाशित

  • Nabintech