२२ असार २०८२, आईतवार

टीभी हेर्न नदिएको भन्दै बैजनाथमा छोराद्वारा बाबुको हत्या
  • न्युज मानसराेवर

 बाँके\ बाँकेको बैजनाथ गाउँपालिकामा टीभी हेर्न नदिएको रिसमा छोाराले बुवाको हत्या गरेका छन् । बैजनाथ गाउँपालिका- २ मकैबारी निवासी ३२ वर्षीय भविलाल रोकाले शनिबार राति ६० वर्षीय बुवा टोपबहादुर रोका क्षेत्रीको धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन् ।

राति टीभी हेरिरहेका बेला बुवाले रोकेपछि रिसाएर धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । घटनापछि राति नै छिमेकीले खबर गरेर घरमा प्रहरी पुगे पनि भविलाल फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी लक्ष्मी खनालले बाबुछोराको सामान्य विवादमा यस्तो घटना भएको नेपाल प्रेसलाई बताइन् ।

‘घटनाको विस्तृत अनुसन्धान भइरहेको छ, तर घरका अन्य सदस्य र छिमेकीहरुसँग बुझ्दा बुवाले टीभी हेर्न रोकेपछि रिसाएर हतियारले हानेको कुरा छ । स्थानीयले सूचना दिएसँगै प्रहरी तत्काल घटनास्थल पुगेको थियो, तर भविलाल फरार भइसकेका थिए, प्रहरीले खोजी जारी राखेको छ’, उनले भनिन् । भविलाल अविवाहित हुन् ।

लागूऔषध सेवनकर्ता उनी दुई पटक सुधार केन्द्रमा बसेर फर्किएको बैजनाथ गाउँपालिकाको वडा नं २ का अध्यक्ष राजु रुचालले बताए ।स्थानीयका अनुसार मृतक टोपबहादुरका दुई छोरा र दुई छोरी छन् । जेठो छोरा बिहेबारी गरेर अलग्गै बसेका छन् ।

  • २२ असार २०८२, आईतवार प्रकाशित

  • Nabintech