बाँके\भूमि समस्या समाधान आयोग बाँकेले जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीका लागि लालपुर्जा वितरण गर्ने कार्य तीव्र पारेको छ । गत वैशाख २० गते कोहलपुर नगरपालिका–१ का ११६ जना भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरण गरेर अभियान सुरु गरेको आयोगले त्यसपछि जेठ ३१ गते वडा नम्बर १ कै ६८ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिसकेको छ ।
आयोगले शुक्रबार एक सूचना जारी गर्दै कोहलपुर–१ कै ६३४ जना अव्यवस्थित बसोबासीलाई जग्गा दर्ता गर्न आउनका लागि जानकारी गराएको छ । आयोगले एक साताभित्र तोकिएको राजस्व बैङ्कमा जम्मा गरेर जग्गा दर्ताका लागि आयोगमा आउन अनुरोध गरेको हो ।
आयोग बाँकेका अध्यक्ष घननाथ खनालले कोहलपुर नगरपालिका वडा नम्बर १ का थप ६३४ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा प्राप्त गर्नका लागि राजस्व जम्मा गर्न सूचना जारी गरिएको जानकारी गराए।
“वडा नम्बर १ मा केही दिनअघि ६८ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेका छौँ, सोही वडाका थप ६३४ जनाले नियमानुसार राजस्व जम्मा गरेर आएपछि उहाँहरूलाई पनि तत्काल लालपुर्जा वितरण गर्छौं,” अध्यक्ष घननाथ खनालले भनेका छन।