१ श्रावण २०८२, बुधबार

युवा संघ लुम्बिनीका अध्यक्षलाई साेधियाे स्पष्टीकरण, यस्तो छ कारण
  • न्युज मानसराेवर

बाँके\सामाजिक संजाल मार्फत आगामी दशौं महाधिवेशनबाट पार्टीको नेतृत्व विद्या भण्डारीले गर्नुपर्ने मत राख्दै आएका राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई स्पष्टीकरण सोधिएको छ ।

खरेललाई युवा संघका महासचिव महेश चौलागाँइले स्पष्टीकरण सोधेका हुन् । असार २५ गते सोधिएको स्पष्टीकरणमा सामाजिक संजालमा पार्टी नेतृत्वलाई लाञ्छना र मानहानि गर्ने गरेको दाबी गरिएको छ । अध्यक्ष खरेललाई संगठनको दशौं महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्यमाथि अभद्र व्यवहार गरेको समेत उल्लेख छ ।

स्पष्टीकरणमा संगठनको धारा ४१ र ४२ (क) र (ख) अनुसार कार्वाही गर्न नपर्ने कारण भौतिक रूपमै उपस्थित भइ पेश गर्न भनिएको छ । अध्यक्ष खरेलले स्पष्टीकरण सोधिएको भोलिपल्ट नै ३ पन्ने जवाफ पेश गरेका छन् ।

उनले महाधिवेशनमा अध्यक्षमा सुमन पुरीलाई समर्थन गरेको तर, कसैलाई अभद्र व्यवहार नगरेको जवाफ फर्काएका छन् । सामाजिक संजालमा नेतृत्व परिवर्तनको कुरा उठाउँदा आफूलाई स्पष्टीकरण सोधिएको दाबी गरे ।

‘मैले आगामी महाधिवेशनबाट विद्या भण्डारीलाई अध्यक्ष बनाउनुपर्छ भन्ने ढंगले फेसबुकमा लेखेको छु’, खरेलले नेपाल प्रेससँग भने, ‘नेतृत्वको विकल्प खोज्नु कुनै अपराध होइन ।’महासचिव चौलागाईँले खरेलले महाधिवेशनमा धम्काएको भनेर प्रतिनिधिले दिएको उजुरी र सामाजिक संजालमा संगठनलाई आँच आउनेगरी प्रस्तुत भएकाले स्पष्टीकरण सोधिएको प्रतिक्रिया दिए ।

  • ३० असार २०८२, सोमबार प्रकाशित

  • Nabintech