कर्णाली\कर्णाली प्रदेशले तुइनको तथ्याङ्क सङ्कलन गरेको छ । १० जिल्लाबाट सङ्कलित तथ्याङ्कअनुसार कर्णालीमा ५० वटा तुइन रहेको भेटिएको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले जानकारी दिए ।
तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने योजना अनुरूप विवरण माग गरिएको थियो । प्रदेशका १० मध्ये सात वटामा रहेका तुइनको विवरण मन्त्रालयलाई प्राप्त भएको हो । पूर्वाधार विकास कार्यालयबाट माग गरिएको विवरणअनुसार ५० वटा तुइन भएको विवरण प्राप्त भएको मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिए ।
सङ्कलन गरिएको विवरणअनुसार सबैभन्दा धेरै तुइन हुम्लामा रहेका छन् । हुम्लामा १५ वटा तुइन रहेको विवरणमा उल्लेख छ । हुम्लामा कर्णाली नदीमाथि छ वटा तुइन रहेको जनाइएको छ ।
यसैगरी कालीकोटमा १२, जाजरकोटमा १२, दैलेखमा दुई, मुगुमा दुई, डोल्पामा तीन र सुर्खेतमा आठ वटा तुइन रहेको विवरण प्राप्त भएको छ । दैलेख, जुम्ला र रुकुम पश्चिमबाट विवरण प्राप्त भएको नभएको जनाइएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा कर्णालीलाई तुइनमुक्त बनाउने नीति लिएको छ । नीति तथा कार्यक्रममा यो योजना समेटेर बजेटसमेत विनियोजन गरिएको छ । तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । चालु आर्थिक वर्ष २०८२/८३ मा उक्त शीर्षकमा एक करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता सुवेदीले बताए ।