बाँके\नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८१/८२ मा २६ देशसँग ८० अर्ब ३८ करोड रुपियाँभन्दा बढीको व्यापार भएको छ ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार नेपालगन्ज नाकाबाट गत आवमा राजस्व सङ्कलन लक्ष्य अनुसार हुन नसके पनि सात अर्ब ७४ लाख रुपियाँभन्दा बढी व्यापार वृद्धि भएको छ । आव २०८०/८१ मा ७२ अर्ब ६३ करोड रुपियाँभन्दा बढीको वैदेशिक व्यापार भएको थियो ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले अघिल्लो आव २०८०/८१ को तुलनामा गत आव २०८१/८२ मा नेपालगन्ज नाकाबाट वैदेशिक व्यापारमा सात अर्ब ७४ करोड ५४ लाख १५ हजार रुपियाँको वृद्धि भएको बताउनुभयो । उहाँले यो नाकाबाट अघिल्लो आवमा ७२ अर्ब ६३ करोड ४९ लाख ८८ हजार रुपियाँको व्यापार भएकोमा गत आवमा बढेर ८० अर्ब ३८ करोड चार लाख तीन हजार रुपियाँ पुगेको जानकारी गराए ।
नेपालगन्ज नाकाबाट हुने वैदेशिक व्यापारको अधिकांश हिस्सा भारतले ओगटेको जनाउँदै भन्सार प्रमुख पौडेलले अन्य २५ देशसँग पनि व्यापार भएको बताउनुभयो । भन्सार कार्यालयका अनुसार गत आवमा ७७ अर्ब ५३ करोड आठ लाख ७२ हजार रुपियाँ बराबरको आयात र दुई अर्ब ८४ करोड ९५ लाख ३१ हजार रुपियाँ बराबरको निर्यात भएको छ ।