१६ श्रावण २०८२, बिहीबार

बाँकेमा बढ्दै बसाइँसराइ
  • न्युज मानसराेवर

बाँके\बाँकेमा पछिल्ला वर्षहरुमा बसाइँसराइ गरेर आउने र जाने दुवै थरी नागरिकको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०–०८१ मा भन्दा गत आर्थिक वर्ष २०८१–०८२ मा जिल्लामा बसाइँ सरेर आउने र जिल्लाबाट बसाइँ सरेर बाहिरी जिल्ला जाने दुवै थरी नागरिकको सङ्ख्यामा वृद्ध भएको हो ।

गत आर्थिक वर्षमा बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर २०९७ परिवार बाँके आएका छन् । २०९७ परिवारका ६३९६ जना सदस्य जिल्लाका विभिन्न पालिकामा आएका हुन् । त्यसैगरी १००३ परिवारका २९४६ जना सदस्य जिल्ला छाडेर अन्यत्र गएका छन् ।

आर्थिक वर्ष २०८०–०८१ मा बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर २०३२ परिवार बाँके आएका थिए । २०३२ परिवारका ६०८० जना सदस्य जिल्लाका विभिन्न पालिकामा आएका थिए । यसैगरी ९०३ परिवारका २६४५ जना सदस्य जिल्ला छाडेर अन्यत्र गएका थिए । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०–०८१ मा भन्दा गत आर्थिक वर्षमा बसाइँसराइ गरेर आउने र जाने दुवै थरीको सङ्ख्यामा वृद्धि भएको हो ।

बाँकेका आठ स्थानीय तहमध्ये बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आउने नागरिकमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकामा आएका छन् । तथ्याङ्कअनुसार जिल्ला बाहिरबाट बसाइँसराइ गरेर बाँके जिल्लाका विभिन्न पालिकामा आउने नागरिकको सङ्ख्यामध्ये सबैभन्दा बढी कोहलपुरमा आएको पाइएको हो ।

  • १५ श्रावण २०८२, बुधबार प्रकाशित

  • Nabintech